१.महासप्तमी
बडा दशैंको नवरात्रिको सातौं दिन फूलपाती हो। नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू घर घरमा भित्राइन्छ। वर्षा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्राउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश –भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहदैनन् भन्ने धार्मिक तथा साँस्कृतिक मान्यता रहिआएको छ।
यस दिन काठमाडौंको सदर टुँडिखेलमा फूलापाती बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजेर प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्राइन्छ।
यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ। किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्राउँछन्। साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौंको जमलमा ल्याई परेड र बढाइँका साथ हनुमानढोका दरवारमा भित्राइन्छ ।

२.महाष्टमी
नवरात्रिको आठौं दिन महाष्टमीमा महाकाली –भद्रकालीको विशेष पूजा–आजा गरिन्छ। देवीभागवत् अनुसार प्राचिन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली(करोडौं योनी–शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएकाले पूजा गर्ने चलन रहिआएको छ। पूजापश्चात् मानिसहरू नवदुर्गा,आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिन्छ्न्। शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्। महाअष्टमी र महानवमी बिचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ।

३.महानवमी
नवरात्रिको नवौ दिन महानवमीमा विशेष गरी सिद्धिधात्री देवीको पूजा–आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ। बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु भन्ने हुन्छ। नवदुर्गाका प्रसादले काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दश प्रकारका अवगुणहरू हटून् र सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भावले सबै दश अवगुणहरुको त्याग गर्दै आएकोमा पछिवाट कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मान्दै बलि चढाउँने चलन आएको मानिन्छ।

४.विजया दशमी
नवरात्रिको दशौ दिनलाई विजयादशमी भनिन्छ। आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भन्ने बुझ्नुपर्छ। यो दशैंको खास दिन हो । यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ।


यस दिन घर घरमा सबैभन्दा पाको र जानकार ब्यक्तिले सोह्र सामाग्रीले भगवती दुर्गा र अरु देवीहरु तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजित देवी, दाहिनेतिर जयादेवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामाग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा र अन्य देवदेवीहरुलाई चढाइ आरती र पुष्पाञ्जलि गर्ने गरिन्छ ।यति गर्नाले कसैलेपनि आफूमाथि दमन गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ।

त्यसपछि मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राखिन्छ । लगतै देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ।

अनि, घरका मूलमान्छेले नव दुर्गा भगवतीको प्रसाद स्वरुप अबिर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशिर्वाद दिन्छन् । अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंको लागि तयार पारी राखिएको नयाँ लुगा गहना लगाई टीका लगाउन जान्छन्। जसको लर्को तथा भिड भाड यत्र तत्र बाटोमा या बसमा प्रशस्तै देख्न सकिन्छ। यस दिन पिङ खेल्यो या भुइँबाट खुट्टा छोड्योभने मरेपछि स्वर्ग गइन्छ भन्ने मान्यता समेत रहेको छ।

दशैंमा टिका थाप्ने, जमरा पहिरिने, आशिष लिने, दक्षिणा लिने कुरा केवल परम्परा मात्र होइन, यसमा हाम्रो जीवनको मूल्य र मान्यताहरु पनि लुकेका छन। यीनिहरुको विशिष्ट अर्थ र महत्व पनि छ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल असोज १६ गते आइतवार ।