काठमाडौ। नेपाली चलचित्र उद्योगमा एक नंवरी नायिका बनिसकेकी सदावहार सुन्दरी करिश्मा मानन्धरको नयां मोड यतिखेर नेपाली राजनीति बनेको छ। राजनीति फोहोरी खेलको रुपमा गन्धित भैरहेको बर्तमान अवस्थामा एमाओवादीवाट अलग्गिएर गएका नेता डा.बाबुराम भट्टराईको नयाँशक्ति पार्टीमा आवद्ध बनेर राजनीतिमा देखिएकी करिश्मा त्यही फोहोरी खेल भन्ने राजनीतिलाई सफा बनाउने सोचमा रहेकी छन्।
फोहोर राजनीतिलाई सफा बनाउने कसरतमा नै डा.भट्टराईको नयाँ शक्ति पार्टीमा लागेको बताउने करिश्मा नयाँ शक्तिमा लागेको दिन रातभर निन्द्रा नलागेको र आफूले सही गरेको या गलत निर्णय गरेको तर्कनामा नै रात वितेको कान्तिपुरसंगको कुराकानीमा करिश्माले भनेकी छन्। उनै नायिका करिश्मा मानन्धरले राजनीतिमा आफू लाग्नुको खास रहस्य र लक्ष्यका बारेमा कान्तिपुरलाई भनेको कुरा यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ।
करिश्माकै शव्दमा–“नयाँ शक्ति नेपालमा आबद्ध भएको ५ महिना भयो । यो अवधिमा धेरै कुरा सिक्ने र देख्ने मौका मिल्यो । देशमा हुने हरेक राजनीतिक परिवर्तन र गतिविधिलाई टाढाबाट मूल्याङ्कन गर्दा र सहभागी हुँदाका फरक धेरै रहेछन् । राजनीतिक रुपमा सबै नागरिक सचेत हुनु जरुरी छ । त्यसको पहिलो फाईदा, प्रतिनिधि छनोटमा हुन्छ । कस्तो प्रतिनिधिले समाज र देशको विकासमा योगदान दिन सक्छ भन्ने सहि निर्णय लिन मद्दत पुग्छ । त्यसको लागि पार्टीमा लाग्नैपर्छ भन्ने छैन ।
त्यो व्यक्तिको स्वतन्त्रताको कुरा हो । म अमेरिकामा बस्दा राजनीतिले गर्दा हुनसक्ने परिवर्तन के के हुन ? हाम्रो देशमा के भएको छैन ? किन हुँदैन भन्ने चाँसो बढ्दै गयो । अनि अमेरिका र नेपालको राजनीतिलाई तुलना गर्न सुरु गरेँ । नेपालका राजनीतिक पार्टीका गतिविधि जनताप्रति उत्तरदायी भएको देखिएन । यहाँ कसैप्रति पूर्वाग्रही भएर भन्न खोजेको पटकै होइन । अहिले अस्तित्वमा रहेका राजनीति पार्टीप्रति जनता सन्तुष्ट छैनन् । यस्तो किन भयो ? यसमा दलहरूको पटक्कै चासो देखिँदैन । राजनीतिबाट जनसेवा भन्दा पनि आफ्नो पद कसरी सुरक्षित हुन्छ भन्ने प्रवृत्ति हावी छ।
खासगरी त्यस्ता अवसर चुनाबको बेला बढी बाड्ने गरेको पाइन्छ । जुन बिल्कुलै गलत हो । म राजनीतिलाई धेरै बुझेको मान्छे होइन । राजनीति भित्र हुने चलखेलका बारेमा मलाई थाहा पनि छैन । तर, कलाकारको नजरले समाज बुझेको छु । राजनीति बुझ्दैछु। नयाँ शक्तिमा आवद्ध हुनुभन्दा अगाडि धेरै पार्टीहरूले मलाई राजनीतिमा लाग्न आग्रह गरेका थिए । उहाँहरूको सिद्धान्त/विचार र काम गराइमा मेरो कत्ति पनि विचार मिलने, जसको कारण प्रस्ताव स्वीकार गरिन् । यदि नयाँ शक्ति नबनेको भए म राजनीतिमा पाइला टेक्दैनथेँ होला।
मैले जीवनमा राजनीति गर्छु भनेर सोचेको पनि थिइनँ । राजनीतिको मेरो गुरु आमा हो । उहाँ राजनीतिक चेतना भएको सचेत महिला हो । जसको कारण मलाई राजनीतिक बुझ्न सहयोग पुग्यो । पहिलादेखि आमाले दिनभरको राजनीतिक गतिविधिलाई बिस्तारमा सुनाउने र आफ्नो धारणा राख्ने गर्नुहुन्थ्यो । राजनीतिमा सक्रिय नभएपनि चाँसो पहिलेदेखि नै थियो । कुनैपनि चिजको अगाडि लाग्नुको कारण हुन्छ । त्यो कुरा म मान्छु । म माओवादी पार्टीमा आस्था राख्ने मान्छे होइन। तर, डा. बाबुराम भट्टराईको विचारधारा र कामले मलाई राजनीतिमा ल्यायो ।
डा.भट्टराईले राजधानीको बाटो ठूलो बनाउँदा लाजिमपाटमा मेरो पनि जग्गा गएको छ । तर, म खुशी । किनकी मेरो नयाँ पुस्ताको लागि त्यो विकासको ढोका हो । नीति निर्माण गरेर मात्र हुँदैन, कामको परिणाम निकाल्न सक्नुपर्छ । डा.भट्टराईको कारण २०७२ साल बैशाख १२/१३ र २९ गते गएको भूइँचालोबाट धेरै मानिसको ज्यान जोगिएको छ । यो कुरा कसैबाट लुक्नु हुँदैन । भट्टराईको विचार र कामप्रति हाम्रो परिवार निकै सकारात्मक छ । उहाँले नयाँ शक्तिका बारेमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग छलफल गर्नुभयो । कलाकारसँग पनि उहाँले यसको अवधारणा बारे अन्तरक्रिया गर्नुभयो । अन्तरक्रियामा केहीले आक्रोस पोख्ने र केहीले दिएको सुझाबलाई डा.भट्टराईले शान्तपूर्वक सुनेको र मनन गरेको पाएँ ।
उहाँले आफ्नो पालामा गर्न नसकेका कुराहरु के के हुन ? र गरेका राम्रा कुरा के के हुन भन्ने विषयमा पटक–पटक बहस अन्तर्क्रिया भएका थिए । त्यो बेला उहाँले नयाँ शक्ति निर्माणका बारेमा आफ्ना विचार र योजना राख्नुभयो । डा.भट्टराईले चालेको विकासको पाइलामा मैले सहयोग गर्दा हुन्छ भने, किन नगर्ने ? राजनीतिक दल भनेको एक जनाले निर्माण हुने होइन । यहाँ विभिन्न मानिसको सहभागिता चाहिन्छ । साथ चाहिन्छ । डा. भट्टराईले ल्याएको देश विकासको नीतिलाई अगाडि ल्याउन साथ दिनुपर्छ भन्दै म राजनीतिमा लागेको हुँ ।
नयाँ शक्तिमा आवद्ध हुनुपूर्व मैले तीन दिनसम्म आफैसँग अन्तरक्रिया गरेँ । के म कलाकार भएर राजनीति गर्नै नहुने हो त ? राजनीतिमा लाग्दा मेरो हजारौं दर्शक गुमाउने त होइन ? किनकी, राजनीति भनेको फोहोरी खेल हो, भन्ने छाप समाजमा परेको छ । सोचेँ, यदि मैले दोस्रो पुस्तालाई राजनीति भनेको फोहोरी खेल भनेर सिकाए भने देश कता जान्छ त ? राजनीतिको खोलभित्रबाट व्याक्तिगत स्वर्थको लागि युवापुस्तालाई गलत पाठ पढाईको छ। मेरो प्रश्नको जवाफ आफैंमा खोजेँ । अनि, भित्री मनले भन्यो ‘म जे गर्दैछु ठिक गर्दैछु ।’
भगवानले हरेक मानिसलाई ठीक र बेठीक छुट्याउन सक्ने विवेक दिएका छन् । त्यो आफैंले थाहा पाउन सक्नुपर्छ । राजनीति गर्ने वा नगर्ने ? यसबारेमा मेरो अन्तरआत्ममा संघर्ष चलिरहेको थियो । त्यो बेला म कसैसँग भेट्दा पनि भेटिन, कुनै कुरामा छलफल पनि गरिन् । मेरो जीवनको पहिलो निर्णय हो, जुन परिवारलाई बताइन । म मेरो विचारलाई डगमगाउन दिन चाहान्थ्येँ । राजनीतिमा लाग्ने निर्णय आफ्न्तलाई सुनाएँ भने विचार डगमगाउन सक्छ भन्ने लाग्यो, कसैलाई जानकारी नै दिइनँ ।
कलाकारिता क्षेत्रमा आफ्नो स्थान बनाएको मान्छे राजनीतिक बाटो कस्तो होला भन्ने आत्मसंघर्षकै बिचमा मेरा तीन दिन एक्लै बिते । राजनीतिले श्रोता दर्शकलाई पर्ने प्रभावको बारेमा पनि सोचेँ ? ठीक छ उहाँहरुलाई तत्काल दुःख लाग्न सक्छ ? तर, समयले सबै कुरा बताउँछ । मैले राम्रो गर्दै जाँदा समयले उहाँहरुको अगाडि सबै कुरा स्पष्ट गर्ने छ भन्नेमा बलियो भएँ । माघ १० गते भएको कार्यक्रमा पुगेँ । अघिल्लो दिन रातभर निद्रा लागेको थिएन।
कार्यक्रमपछिका तीन दिन कसैलाई भेट गरिन् । म नयाँ शक्तिमा लागेको कुरा मिडियाले सकारात्मक र नकारात्मक दुवै ढंगले निकै प्रचारमा ल्याए। सञ्चारमाध्यबाट एक्कासी करिश्मा मान्धर नयाँ शक्तिमा भन्ने समाचार सुनेपछि परिवारका सबै जना अचम्मित हुनभयो । टिभीमा समाचार हेरेपछि आमाले फोन गरेर भन्नुभयो ‘ल तिमी लागेछौं, राम्रो गर भन्दै खुशी हुनुभयो । विनोदको (श्रीमान) एउटा मात्र प्रश्न थियो, तिमी बुझेर लागेको हो ? उहाँले मलाई पहिला जसरी साथ दिनुभएको थियो अहिले पनि त्यसैगरी साथ दिनुभएको छ । सबै मिडियामा आएका समाचार अध्ययन गरेँ र, मनमा सोचें ‘सत्य कहिल्यै हार्दैन, जस्तो सुकै भएपनि अन्तिम जित सत्यकै हुन्छ’ भन्ने विचारले नकारात्मक सोचका विरुद्ध आफूलाई विजय बनाउन सकेँ। मलाई राम्रोसँग थाहा छ , राम्रा पत्रिकाले राम्रै लेख्छन् ।
अहिले म मा नकारात्मक कुरासँग लड्ने तत्वको विकास भैसकेको छ । म जे छु त्यही हो, कसैलाई केही भन्नुछैन् । पछिबाट कराउनेको अर्थ हुँदैन । अघि म छु, म देश विकासको अभियानमा केही योगदान गरौँ भनेर लागेको हो, अरूको कुराले फरक पार्दैन। केही सञ्चारमाध्यमले क्रमश प्रहार गरेँ । दुई तीन दिन निद्रा लागेन । तीन दिनपछि डा.भट्टराईले सोध्नुभयो ‘अरु साथीहरुलाई तनाब झेल्ने बानी परेको छ, तपाई राजनीतिमा नयाँ मान्छे, निदाउनु त भएको छ नि ?’ म माथि चौतर्फी प्रहार भइरहेको थियो । त्यो कुरा बुझेर होला डा.भट्टराईले सोध्नु भएको । मैले भने ‘ठीक छु केही छैन ।’ समाजिक सञ्जालमा मैले राजनीति गरेर ठूलै अपराध गरे जस्तो गरी निकै तल गिरेर केही व्यक्तिहरुले आफ्ना विचार राखे । कतिपय राजनीतिक दलका नेताहरुले आफ्नो वास्तविक औकात देखाएँ ।
कतिपयले मेरो कुनै विचार र दिमाग छैन जस्तो गरि प्रतिक्रिया दिए । हुन पनि हो कुनै पनि कलाकारलाई राजनीतिक पार्टीले निर्णय गर्ने तहमा पुर्याएकै छैन । यो पाँच महिनामा नकारात्मक सोच राख्ने मानिसबाट आफूलाई मजवुद बनाउने मौका पाएँ । बिषलाई अमृत बनाउने नयाँ शक्तिको उद्घोष हो । रियाक्टिप होइन, प्रोयाक्टिप राजनीति गर्ने हाम्रो उदेश्य हो । त्यसकारण कलाकार विचार नभएका हुन्छन् भन्ने सोच राख्नेलाई भन्नु केही छैन । उहाँहरुको जवाफ काम गरेर दिनेछु । देशको आर्थिक विकासका लागि जनता र राजनीतिक दलको नीतिलाई जोड्न पुलको काम गर्नुसक्छु । नयाँ शक्तिमा आबद्ध भएपछि म विभिन्न जिल्लामा पुगे र त्यहाँको जनताका समस्यालाई नजिकबाट देखेँ । जनताको आक्रोसित छन । हुनुपनि स्वभाविक हो ।
राजनीतिक परिवर्तनका लागि जनताका छोराछोरीले ठूलो बलिदान गरेका छन् । विभिन्न पार्टीमा लागेका युवाहरूको आक्रोस मैले देखेँ र सुने । युवाहरूका मुद्धा हरेक राजनीतिक पार्टीले कुनै न कुनै ढंगले सम्बोधन गर्नुपर्छ । पार्टी भनेको परिवार पनि हो। परिवारको सबै सदस्यलाई क्षमता र योगदान अनुसारको समान अधिकार र समान अवसर हुनुपर्छ । फेरि, राजनीति भनेको जागिर पनि होइन, स्वंयसेवा हो । अर्को, कुरा देशमा दुईवटा मात्र वर्ग देखेको छु । एउटा गरिव र अर्को धनी । ग्रामिण क्षेत्रमा सबै जातका जनता विभेदमा परेका छन् । २१ औँ शताब्दीमा आईपुग्दासम्म पशुको जस्तो जिवन बिताउन बाध्य छन् । जीवनको मुल्य के हो थाहा छैन ? उनीहरूलाई बिहान साँझको चुलो कसरी बाल्ने भन्ने चिन्ता मात्र छ । राजनीति भनेको तल्लो वर्गलाई माथि उठाउने हतियार बनाउनुपर्छ । तर, त्यो भएको जस्तो लागेन । सुकुमबासीको त्यस्तै हालत छ । उनीहरु सुतेको जीवनमा उनीहरुको अधिकार छैन् । आफ्नो देशको जनता भोकै बस्दा, खान र पानी पर्दा ओत लाग्ने ठाउँको व्यवस्था समेत राज्यले गर्नु सकेको छैन । यो त, सत्तामा पुगेका राजनीतिक दलको दायित्व हुन्छ । उनीहरुको पक्षमा राज्यले थोरै भएपनि व्यवस्था गरिदिने हो भने धेरै हुने थियो । राजनीतिमा आएपछि विभिन्न प्रकारका व्यक्तित्वहरुसँग दिनहुँ जसो भेटघाट हुन्छ । उहाँहरुको कुरा सुन्दा निकै पीडा बोध हुन्छ ।सिनेमाको ३० वर्षमा मैले धेरै पुरस्कार पाएँ । राज्यले दिने सबै पुरस्कार मैले पाइसकेको छु । विदेशमा बस्ने नेपालीबाट त्यत्तिकै सम्मान पाएको छु । तर, जब म जनताको घर आगनमा पुगेँ त्यो बेला लाग्यो मैले काम गर्न अझै बाँकी छ । जुन म गर्न सक्छु । सिनेमाबाट जनताका धेरै कुरा बोल्न र देखाउन बाँकी भेटेँ । पेट भर्नकै लागि कैयौँ परिवार भारत र अन्य खाडी मुलुक पस्नु पर्ने ? यस्तो बाध्यता ? यस्तो अवस्थाको अन्त्य गर्न देशमा आर्थिक विकास चाहिन्छ । जुन कुरा नयाँ शक्तिले पाँच ‘स’ को रुपमा लिएको छ ।
हरेक बिद्धानको डायरीमा लेखिएको हुन्छ ‘गर्न नसक्ने कुरा केही हुँदैन ।’ यो सत्य हो । हाम्रो जस्तो भौगोलिकता भएका धेरै देश छन् जसको विकास लोभ लाग्दो गरी अगाडि बढेको छ । नेपालले पर्यटनको क्षेत्रमा निकै राम्रो गर्नसक्छ , त्यसको लागि राज्यसञ्चालन गर्नेहरूसँग काम गर्ने इच्छा शक्ति हुनुपर्दछ । जुन पटकै छैन । कसरी हुन्छ देशको विकास ? नयाँ शक्ति र डा. भट्टराइको विचारले देशलाई समृद्धि बनाउन सकिन्छ । म त सबैलाई भन्छु देशको आर्थिक विकास चाहानेहरू अब ढिलो गर्नु हुँदैन आउनुस् एउटै ठाउँबाट काम गरौँ । विकास हाम्रै पालामा सम्भाव छ । ”
प्रकाशन मिति–२०७३ साल जेठ २१ गते शुक्रबार ।