काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमण गर्ने भएका छन्। चीनको राज्यपरिषदका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमणमा ओली चीन जाने भएका हुन्।
प्रधानमन्त्रीको भ्रमणदलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सन्चारकर्मी सहभागी हुनेछन्।
भ्रमणकाक्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमन्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन्। परराष्ट्र मन्त्रालयकाअनुसार उनले चीनका वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री ओलीले नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत समूहलाई बेइजिङमा सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नेछन्। त्यहाँ उनको तिब्बतका प्रान्तीय नेताहरुसँग भेटवार्ता हुनेछ। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमन्डल असार १० गते आइतबार नेपाल फर्कनेछ। प्रकाशन मिति–२०७५ साल जेठ ३० गते बुधवार ।