काठमाडौ। हुंदा–हुंदै अत्यन्त प्रज्ज्वलनशील पद्धार्थ पेट्रोलको पनि चोरी हुने खवर अनौठो नभइकन यथार्थ भएको छ। भारतको राजधानी नयाँ दिल्लीमा १ सय ५० फिट लामो सुरुङ बनाएर इन्डियन आयल कर्पोरेशनको भूमिगत पाइप लाइनबाट पेट्रोल चोरी हुँदै आएको रहस्य खुलेको छ।
मंगलबार राति पेट्रोल चोरी गर्ने क्रममा विस्फोट भएपछि मात्र यो रहस्यको पर्दाफास भएको भारतीय संचार माध्यमले जनाएको छ। पाँच महिनाअघि द्वारका नर्थको सुरज बिहार क्षेत्रमा खाली जमिन भाडामा लिएर देखावटी रुपमा गाडीको बम्पर मर्मत केन्द्र खोलेका आरोपीहरुले १५० फिट लामो सुरुङ खनेर आयल कर्पोरेसनको भूमिगत सप्लाई लाइनमा प्वाल पारी इन्धन चोरी गर्न सफल भएका हुन्।
उनीहरुले हालसम्म कति परिमाणमा इन्धन चोरी गरे भन्नेबारे प्रष्ट हुन नसकेको अधिकारीहरुले भनेका छन् । प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ भने अन्य फरार आरोपीहरुको खोजी भइरहेको जनाइएको छ।
मंगलबार राति सो क्षेत्रमा शक्तिशाली विस्फोट भएको थियो । आसपासका घरमा समेत कम्पन हुने गरी विस्फोट भएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अनुसन्धान थालेपछि सुरुङ खनेर पेट्रोल चोरी हुँदै आएको तथ्य उजागर भएको हो ।
पक्राउ परेका आरोपी मोहम्मद तनवीरका अनुसार उनीहरुले सो क्षेत्रबाट इन्डियन आयल कर्पोरेशनको पाइपलाइन लगेको पत्ता लगाएर नै खाली जमिन भाडामा लिएका थिए । उक्त जमिनमा एउटा कटेरो बनाएर १० फिट गहिरो खाडल खनिएको थियो । खाडलको १० फिट गहिराईबाट पेट्रोल पाइपलाइनसम्म १५० फिट तेर्सो सुरुङ खनिएको थियो।
प्रकाशन मिति–२०७४ साल माघ १२ गते शुक्रबार ।