काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले सबै जनता मिलेर देशको स्वाभिमान बचाउँदै शान्ति र अमनचयन कायम गर्नुपर्ने बताएका छन्।
काठमाडौंको वनकालीमा विहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय बिराट हिन्दू महासम्मेलनको उद्घाटन गर्दै पूर्वराजा शाहले बाहिरी हस्तक्षेप र राजनीतिक हस्तक्षेपबाट जनता निराश बनेको र देशको परिस्थिति पनि बिग्रँदै गएको दाबी गरे।
धर्म र संस्कृतिको जर्गेना गरेमामात्र मुलुक ओजस्वी र तेजस्वी बन्नसक्ने भन्दै पूर्वराजाले राजनीतिक दलहरुका कारण देशमा बढ्दै गएको असन्तुलनको अवस्था जारी रहे देश विद्रोहमा जानसक्ने चेतावनीसमेत दिए।
सो अवसरमा जगतगुरु शंकराचार्यले नेपाललाई राजसंस्थासहितको हिन्दूराष्ट्र कायम गर्न सकेमामात्रै नेपालको सही पहिचान कायम हुने जिकिर गरे। महासम्मेलनमा नेपाल, भारत र विभिन्न देशका सन्त, महन्त, आश्रम प्रमुखहरु तथा हिन्दूवादीहरुको सहभागिता रहेको छ।
प्रकाशन मिति–२०७३ साल कात्तिक ४ गते विहीवार ।