काठमाडौ। नेपालकी पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहलाई पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको दाइजो अव नेपाल सरकारको हुने भएको छ। राससका अनुसार ज्ञानेन्द्रले प्रेरणालाई दाइजो स्वरुप काठमाडौको छाउनीमा रहेको १५ रोपनी एक आना जग्गा सर्वोच्च अदालतले नेपाल ट्रस्टको नाममा हुने फैसला गरेको छ।
प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशद्वय दीपक कार्की तथा सपना मल्ल प्रधानको इजलासले विहीबार प्रेरणा शाहको नाममा रहेको उक्त सम्पत्ति नेपाल ट्रस्टकै नाममा गर्ने फैसला गरेको सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । राजतन्त्र हटेपछि सरकारले राजा र राजपरिवारको सदस्यको नाममा रहेको सम्पूर्ण सम्पत्तिलाई नेपाल ट्रस्टको नाममा गर्ने निर्णय गरेको थियो ।
उक्त जग्गा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफूलाई दोइजोस्वरुप दिएको भन्दै प्रेरणाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् । सर्वोच्च अदालले यसअघि प्रेरणाको नाममा सो जग्गाको फैसला गरेको थियो । पछि नेपाल ट्रस्टले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन हालेको थियो । सोही निवेदनमा सुनुवाइ गर्दै विहीबार यसअघिको फैसला उल्टाएर पुनः ट्रस्टकै हुने फैसला गरेको हो।
प्रकाशन मिति–२०७३ साल पुस २१ गते विहीवार ।