ललितपुर। नेवार ब्राम्हणहरुको छाता संगठन राजोपाध्याय समाजको छैठौ साधारण सभा र सम्मान कार्यक्रममा गुठी विधेयकको विरोध भएको छ। नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले सरकारले फेरि गुठी विधेयक ल्याउने तयारी थालिसकेको भन्दै फेरि पनि यसको विरोधमा उत्रिन सबैलाई आव्हान गरेका छन् ।
अध्यक्ष ताम्राकारले सरोकारवालासँगको परामर्श वा सहभागीता विना ल्याउन लागिएको गुठी विधेयक आफुहरुलाई कुनै हालतमा स्वीकार नहुने बताएका छन् । यसको विरोधमा फेरि पनि सडक तताउनुपर्ने अवस्था आउनसक्ने भन्दै सबै जातीय साथै सामाजिक संघसंस्थाहरु तयार रहन अनुरोध समेत गर्ने कार्य अध्यक्ष ताम्राकारवाट भएको छ।
कार्यक्रममा आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान दिँदै समाजको नाम उच्च बनाएको भन्दै दुई जना व्यक्तित्वलाई सम्मानित गरिएको थियो । धर्म, सँस्कृति, परम्पराको अध्ययन, अनुसन्धानमा निरन्तर योगदान पु¥याउने सँस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायलाई सम्मान गरिएको छ। त्यसैगरि बास्केटबल खेलका राष्ट्रिय खेलाडी सुब्रत राजोपाध्याय पनि सम्मानित भए ।
सम्मानित दुवैलाई समाजका अध्यक्ष अमरराज राजोपाध्यायले दोसल्ला ओढाएका थिएभने दबूका अध्यक्ष ताम्राकारले सम्मान पत्र प्रदान गरेका थिए । सोही कार्यक्रममा २०७५ सालको एसइइ परीक्षामा उत्तीर्ण राजोपाध्याय विद्यार्थीहरुलाई पनि सम्मानित गरिएको थियो ।
समाजको वार्षिक कार्य प्रगति–प्रतिवेदन समाजका महासचिव बिराजकाजी राजोपाध्यायले पेश गरेका थिए। महासविच राजोपाध्यायले समाजभित्र लुकेर बसेका प्रतिभाको खोजी गर्ने क्रममा यस वर्ष गायन प्रतिभाको खोजीको थालनी भएको बताउँदै आगामी वर्ष नृत्य प्रतिभाको खोजी गर्ने उद्घोष गरेका छन् । कोषाध्यक्ष जयन्ती शर्मा राजोपाध्यायले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन्।
समाजका निवर्तमान अध्यक्ष वदन ज्वालानन्द राजोपाध्यायले गत फागुन १७ गते सम्पन्न राजोपाध्याय गायन प्रतिभाको खोजीको अडिसनबाट छानिएका प्रतियोगीहरुको नाम सार्वजनिक गरेका थिए । समाजका अध्यक्ष अमरराज राजोपाध्यायले समाजको वृहत्ततर विकासका लागि समाज सदैव क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा वैदिक प्रतिष्ठानका अध्यक्ष उपेन्द्रभक्त सुवेदी, ज्यापु समाजकि सचिव सरिता महर्जन, राजकर्णिकार समाजका अध्यक्ष सुवर्णराज राजकर्णिकार, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजबीर बज्राचार्य लगायतले जातीय साथै विभिन्न सामाजिक संघसंस्था र विभिन्न तहका सरकारबीचको सहकार्यबाट समाजको विकास हुनसक्नेमा जोड दिएका थिए।
काठमाडौं उपत्यकाका देव ब्राम्हण राजोपाध्यायहरुको छाता संगठनको रुपमा राजोपाध्याय समाजको गठन २०६४ सालमा भएको हो । समाजले वर्षेनी समाजलाई विभिन्न प्रकारले योगदान दिने व्यक्तित्वहरुको सम्मान गर्दै आएको छ ।
प्रकाशन मिति–२०७६ साल फागुन २६ गते सोमवार ।