काठमाडौ। नेवा पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाले नेवाः मिडिया कप फुटसलको आयोजना गरेको छ। नेपालभाषा माध्यमबाट संचालित संचार गृह अथवा विभिन्न संचार गृहमा कार्यरत नेवाः पत्रकारबीच नेवाः मिडिया कप प्रतियोगिताको रुपमा आयोजना भएको आयोजक नेवा पत्रकार राष्ट्रिय दबूले जनाएको छ।
आयोजक पत्रकार दबू, काठमाडौंका स्वर्गीय कोषाध्यक्ष सानुकाजी महर्जनको स्मृतिमा आयोजना गरिएको ‘लाखाछेँ सानुकाजी स्मृति फुटसल प्रतियोगितामा शुक्रबार भएको रोमान्चक खेलमा इमेज च्यानलको ख्वताबजि कार्यक्रमको समूह प्रथम भएको छ ।
सुरेन्द्र तुलाधरको कप्तानीमा मैदानमा उत्रेको ख्वताबजि समूहले सुरेन्द्र मानन्धरको कप्तानी रहेको इमेज च्यानलकै समयबजि कार्यक्रम समूहलाई टाइब्रेकरमा हराउँदै उपाधि जित्न सफल भएको हो । निर्धारित समयभित्रको खेलमा २–२ गोलको बराबरी हुँदा टाइब्रेकरबाट प्रतियोगिताको विजेता चुनिएको हो।
आयोजक संस्था नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला भने नेवाः पत्रकार राष्ट्रिय दबू, ललितपुरलाई ६–० ले हराउँदै तेश्रो स्थान हासिल गर्न सफल भयो । प्रतियोगीतामा नेपालभाषा संकिपा समाजका गोलरक्षक सुरेन्द्र महर्जन सर्वश्रेष्ठ खेलाडी घोषित भए भने समयबजि टिमका स्ट्राइकर प्रकाश महर्जनले सर्वाधिक ११ गोल हान्दै सर्वाधिक गोलकर्ताको उपाधि जित्न सफल भए।
प्रतियोगिताका विजेता, प्रतियोगी सबैलाई वरिष्ठ समाजसेवी एवम् उद्यमी लक्ष्मण गमालले मेडल प्रदान गरेका थिए भने समाजसेवी बालकृष्ण महर्जनले प्रमाण पत्र प्रदान गरे। प्रतियोगितामा पत्रकार सम्बद्ध चार र कलाकार सम्वद्ध चार वटा गरी जम्मा आठ टिमको सहभागिता रहेको थियो।
पत्रकार तर्फबाट नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौंको साथै केन्द्र, ललितपुर शाखा र भक्तपुर शाखाको सहभागिता थियो। त्यस्तै कलाकारतर्फबाट इमेज च्यानलको ख्वताबजि र समयबजि साथै नेपालभाषा संकिपा समाज र नेवाः संकिपा राष्ट्रिय दबूको पनि सहभागीता रहेको थियो।
प्रकाशन मिति–२०७४ साल बैशाख १५ गते शुक्रबार ।