काठमाडौं। नेपाल प्रहरीको उच्च पद आइजीपी अर्थात प्रहरी महानिरीक्षक पदमा एआइजी शैलेश थापा क्षेत्री नियुक्त भएका छन्। मंगलवार प्रधानमन्त्री निवास बालुटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी थापा क्षेत्रीलाई बढुवा गर्दै महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।

नेपाल सरकार गृह मन्त्रालयले एआइजी थापा क्षेत्रीलाई महानिरीक्षक बनाउन सिफारिस गरेको थियो। हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली भोलिबाट ३० वर्षे सेवा अवधीका कारण अवकाश पाउँदै छन्। त्यसपछिको नेपाल प्रहरीको नेतृत्व थापा क्षेत्रीले सम्हाल्ने छन्।

प्रहरी महानिरीक्षकको लागि एआइजी थापा क्षेत्री र एआइजी हरिबहादुर पाल प्रतिस्पर्धामा थिए। एआइजी पाल र क्षेत्री भने विसं.२०४९ वैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए। एआइजी बढुवामा थापा क्षेत्री तीन जनामध्ये दोस्रो नम्बरमा थिए। उनले ६८ दशमलव ४०६ अंक प्राप्त गरेका थिए।

त्यस्तै, पालले भने ६७ दशमलव ५५३ नम्बर प्राप्त गरेका थिए। उनीहरू गत फागुनमा एआइजी बढुवामा परेका थिए। थापा क्षेत्रीले अब २१ महिनासम्म नेपाल प्रहरीको महानिरीक्षक पदमा रहेर काम गर्ने छन्।
प्रकाशन मिति–२०७७ साल असार २३ गते मंगलवार ।