काठमाडौं। सरकारले चैत ११ देखि जारी लकडाउन खुकुलो गर्ने निर्णय गरेको छ। बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउन ११ दिन बढाउँदै मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो।

बैठकपछि साँझ निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री युवराज खतिवडाले बैशाख २५ गतेपछि लकडाउन केही खुकुलो पारिएको जानकारी दिएका छन्। खतिवडाका अनुसार औद्योगिक उत्पादन तथा वितरणका लागि खुला छाडिएको छ। साथै निर्माण सामग्रीको ढुवानीलाई पनि खुला गरिएको छ। मन्त्री खतिवडाले सुरक्षाको उपायहरु अपनाएर ढुङ्गागिट्टी उत्पादन प्रशोधन गर्न दिइने बताए।

कृषि तथा पशुपन्छीको ढुवानीका लागि पनि खुकुलो पारिएको छ। उद्योगबाट लोड भएका सामान गन्तब्य स्थलसम्म पुर्‍याउन पाइने भएको छ। त्यहाँबाट फर्किन पनि दिइने भएको छ। बीमा, बैंकिङ, धितोपत्र बजार सञ्चालनका लागि पनि व्यवस्था गरिएको छ। एक तिहाइ कर्मचारीबाट सेवा दिने व्यवस्था मिलाइएको छ।

काठमाडौं छिर्ने गाडीका चालक र सहचालकको विवरण राख्नुपर्ने भएको छ। ग्यास, पानी, खाद्यान्नका साथै अन्य उत्पादन ल्याउन लैजान पनि दिइने भएको छ। निर्माण उद्योगहरु पूर्ण रुपमा सञ्चालन गर्न दिइने भएको छ। राजमार्गका होटल तथा रेष्टुरेन्टहरु पनि सीमित रुपमा खोल्न पाइने भएको छ। त्यहाँबाट खानाको प्याकेट मात्र उपलब्ध हुने छ। गाडी वर्कसप पनि खुल्ने भएको छ।

अन्य विद्युतीय सेवा दिने क्षेत्र पनि खुला हुने निर्णय मन्त्रिपरिषदले गरेको छ। यस्तै जनक शिक्षा सामाग्री केन्द्रबाट पाठ्यपुस्तक बिक्रीको अनुमति दिएर पुस्तक पसल पनि खोल्न पाइनेछ।

यस्तै ढुवानीमा पनि केही खुकुलो गरिएको छ । अब कृषि उत्पादनसँग सम्बन्धी सामग्री, विद्यालयका पाठ्यपुस्तक, विकास आयोजनाका निर्माण सामग्री सञ्चालन गर्न दिइनेछ। तर, उपत्यका प्रवेश गर्ने मालबाहक सवारीले यात्रु बोक्न पाउने छैनन्।

हरेक मालबाहक गाडीमा भएका चालक र सहचालकको विवरण उपत्यका प्रवेश गर्दा र फर्किँदा चेकजाँच गरिनेछ। झुटा विवरण दिएको भए कारबाही गरिने सरकारका प्रवक्ता खतिवडाले बताए।

बैंक तथा वित्तिय संस्था, सहकारी लगायतले आवश्यक पर्ने कर्मचारीमध्ये बढीमा एक तिहाई कर्मचारी राखेर सेवा सञ्चालन गर्न सकिने सरकारको निर्णय छ भने अतिआवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय र संस्थानहरुमा आवश्यक न्यूनतम कर्मचारीबाट आलोपालोमा सेवा दिनुपर्नेछ।

 शैक्षिक संस्था, तालिम तथा प्रशिक्षक केन्द्र, गैरखाद्य बिक्री गर्ने स्टोर र सपिङ मल, धार्मिक स्थलहरुमा भेला, रंगशाला, फुटसल, जिमखाना, शैलुन, होटल बार, यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

प्रकाशन मिति–२०७७ साल बैशाख २४ गते बुधवार ।