काठमाडौं। पछिल्लो रिपोर्ट अनुसार, नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७६ पुगेको छ। शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७६ पुगेको हो।
शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या ४२ पुगेको छ। यसअघि शनिबार बिहानै थप ६ जनामा संक्रमण पुष्टि भएको थियो।
शनिबार बिहान संक्रमण पुष्टि भएकाहरुमा बर्दिया, नार्खु निवासी २८ वर्षीया महिला, सिरहा सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर–४ निवासी १८ वर्षीया महिला र चितवन गढौली–१ निवासी २५ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।
संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।
सिरहामा भने पहिलो पटक संक्रमित भेटिएको हो। योसँगै तराईका २१ मध्ये १९ जिल्लामा कोरोना संक्रमण फैलिएको छ। तराईका मोरङ र सुनसरीमा मात्रै अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन्।
हालसम्म पर्सामा ९१, कपिलवस्तुमा ४२, बाँकेमा ३३, उदयपुरमा ३३, रुपन्देहीमा २८, काठमाडौंमा ९, कैलालीमा ४, रौतहट, बारा, धनुषा, दाङ र सर्लाही मा ३–३ तथा बागलुङ, झापा, महोत्तरी, भक्तपुर र बर्दियामा २–२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर र नवलपरासी पश्चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरी र सिरहामा एक–एक जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन्। प्रकाशन मिति–२०७७ साल जेठ ३ गते शनिवार ।