काठमाडौ । नेपालको राष्ट्रिय फूल लालीगुराँस उचित संरक्षण नहुँदा संकटमा परेको छ। सरोकार निकायहरुले मासिने क्रममा रहेको गुनासो गरेका छन्। प्राकृतिक, सांस्कृतिक जैविकलगायत विविध दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको लालीगुराँसलाई संरक्षणको अभाव रहेको छ।
खुला चरिचरन, खुला सीमा, चेतना अभाव, अव्यवस्थित विकास निर्माण, दाउराका लागि बढ्दो प्रयोगजस्ता कारण लालीगुराँस सङ्कटमा रहेको छ । राससका अनुसार इलाम जिल्लाका अधिकांश लेकाली क्षेत्रमा लालीगुराँस पाइने भए पनि तिनको सङ्ख्या र प्रजातिको यकिन हुन सकेको छैन ।
“गुराँस विनाश हुनुका कारण पहिल्याई उचित संरक्षणका लागि ठोस नीतिको आवश्यकता देखिएको छ,” उच्च पहाडी जडीबुटी संस्थाका दीपक लुङ्गेलीभन्छन्–,“वन मन्त्रालय र विभागबाट ठोस नीति तर्जुमा गरी जिल्ला वन कार्यालयमार्फत स्थानीय तहका हरेक सरोकारवालाई संरक्षणका लागि प्रेरित गर्नुपर्छ।”
माइमझुवा, मावु, जमुना, माइपोरी, पुवामझुवा, प्याङ, जोगमाईलगायत गाविसमा अत्यधिक गुराँस पाइन्छ ।
ती क्षेत्रमा रहेका पशुगोठमा दाउरासँगै गोठलगायत संरचना निर्माणका लागि गुराँस फँडानी हुने गरेको छ । खुल्ला चरिचरनलाई बन्द गर्दै अनावश्यक फँडानी रोक्न गोठपालकलाई नै सचेत बनाउनुपर्ने आवश्यकता देखिएको मावुका डुलबहादुर गुरुङले भनेका छन् ।
इलामको पूर्वी पशुपतिनगरदेखि मानेभन्ज्याङ हुँदै सन्दकपुरसम्मको क्षेत्रमा सीमापारि संरक्षित क्षेत्र भएकाले भारतीय सीमा सुरक्षा बल (एसएसबी) र त्यहाँका दुई दर्जन होटलले दाउरा र निर्माणका लागि लालीगुराँसको प्रयोग धेरै गर्ने गरेका छन्। जिल्ला वन कार्यालय इलामले एक स्थानमा समूह निर्माण गरेर संरक्षण थालनी गरे पनि अन्यत्र ठोस कार्यक्रम गर्न सकेको छैन।
चमैताको कहरे सामुदायिक वनमा समूहमार्फत कार्यालयले संरक्षण थालेको हो । वन तथा भूसंरक्षण मन्त्रालयमार्फत गुराँस संरक्षणका लागि कार्ययोजना निर्माणको तयारी थालिएको विश्वमा लालीगुराँसको एक हजार प्रजाति रहे पनि नेपालमा लालीगुराँसको ३२ प्रजाति रहेको तथ्याङ्क छ।
प्रकाशन मिति–२०७३ साल चैत्र ५ गते शनिवार ।