काठमाडौं। चर्चाको शिखरमा रहेका हांस्य दम्पति सीताराम कट्टेल धुर्मुसे र सुन्तली कुञ्जना घिमिरे वीच विवाह भएको पनि आज मंसीर १४ गतेवाट १३ बर्ष पुगेको छ । १३ बर्षको दाम्पत्य जीवन बेस्वाद होइन, दुवैले स्वाद नै मानेका छन्। संघर्षले बनेका यी जोडी यतिखेर राष्ट्रिय गौरबका योजनामा समेत समाहित वनेर सवेको वाह वाही पाइरहेका छन्। विवाहको १३ औं बर्षगांठमा धुर्मुसे सीताराम कट्टेलले ओहो ! कुञ्जनासँग बिहे भएको पनि १३ वर्ष पो पूरा भइसकेछ भनेर सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन्।
धुर्मुस आफ्ना विगत विगत सम्झदै अगाडि भन्छन्–”उनको माया,मोह र स्नेहले मलाई यी वर्षहरु केबल दिनहरु जस्तो मात्रै लाग्छन्। यति लामा वर्षहरु मलाई छिट्टै बितेका १३ दिन जस्तो लागिरहेछ। सायद मनले खाएका मान्छेसँग बिताएको समय लामो भएपनि छोटो नै लाग्छ। छिट्टै बितेजस्तो लागेपनि पुराना स्मरणहरु दिमागमा ताजा छन्।
कलाकार बन्छु, घरको ऋण तिर्छु, परिवारलाई सुखसँग राख्छु, यहि थिए मेरा सुरुवाति सपना। वि।सं २०५८ साल जेठ १८ गते धरानको कोशी सुपर गाडीको पछाडिको सिटमा बसेर काठमाण्डौं हुँइकिँदै गर्दा गोजीमा थियो, १ हजार ७ सय रुपैँया र एउटा झोला। झोलाभित्र थियो एउटा तन्ना। काठमाण्डौं प्रवेश मेरा लागि सुखद् भएन किनकी काठमाण्डौँ पाइला टेक्दै गर्दा राजा विरेन्द्रको सपरिवार सकिएको समाचार सुन्नु परेको थियो। जुन कुरा सम्झिँदा अहिले पनि मनै चिसो हुन्छ।
खासै सुनौला सपनाहरु थिएनन् बरु जे सपना थिए त्यसका लागि गतिलै संघर्ष गर्नुको विकल्प चाहिँ थिएन। त्यसैले सुरु भए मेरा संघर्षका दिनहरु। सामान्य सपना पछ्याउँदै गर्दा गरेका संघर्षहरु एकातिर छन् भने बाँच्नका लागि गरिएका संघर्षहरु अर्कोतिर छन्। यी संघर्षका कहानी लामै छ, लेख्दै जानेहरु हो भने किताब नै बन्न सक्छ।
त्यसैले आज विशेष दिनमा मेरो जीवनको विशेष मान्छेसँगको पहिलो देखभेटको स्मरण चाहिँ गर्न मन लाग्यो। सुटिङ सेट अनि माइक्रोमा मेकअप गरिरहेको बेला भएको त्यो भेट। अपरिचित युवति, लजालु स्वभावको म। खै कताबाट गफ गर्ने आँट पलायो। परिचय मात्रै होइन उनीसँग म निकै गफिएछु। सायद भगवानले चाहेर नै होला त्यो पहिलो देखभेटमै त्यति मजाले बोल्न सकेको। पहिलो भेटमै उनी निकै फरासीली अनि व्यवहारिक लाग्यो। सायद, मनैबाट मन पराएको कुरा कुञ्जनाको मनलाई पनि मन पर्यो। त्यसैले २०६५ साल मंसिर १४ अर्थात १३ वर्ष अघि आजकै दिन हामी दुईबाट एक भयौं।
कुञ्जना मेरो जीवनमा प्रवेश गरेसँग धेरै कुराहरु परिवर्तन भएका छन्। मेरो जीवनले थप उर्जा प्राप्त गरेको छ। उनीसँग बिहेभएपछि नै मैले परिपक्व भएको महसुस गरेँ। व्यवहारिकता, आँट र हिम्मत गर्न उनले नै सिकाइन। जति मेरो उचाई बढाउनमा उनको योगदान छ सायद उनको सुख र खुशीका लागि मैले उनले जति योगदान गर्न सकेको छैन।
उनीभित्र सच्चा माया मात्र होइन साँच्चीकै असल भावना छ। जुन कुरा मैले २०७२ सालको भूकम्पपछि महसुस गरेँ। भूकम्पले थिलथिलो पारेको घाउमा मल्हमपट्टी लगाउन आफ्नो ११ महिनाको छोरीलाई कसैको काखमा सुम्पेर प्रभावितहरुको घरमा पुग्न उनलाई त्यहि असल भावनाले प्रेरित गर्यो। कहिँ राहत बनेर त कहिँ साहारा बनेर अनि कहिँ आवास बनेर पुग्न मन निश्वार्थ भावनाले भरिएको हुनुपर्छ। त्यसैले उनीसँग म सच्चा मन अनि निश्वार्थता पाउँछु। त्यसैले त मेरो परिवारले आज मलाई भन्दा उनीलाई नै धेरै खोज्छन् जुन कुराले मलाई गर्व लाग्छ।
यो वातावरण त्यतिकै बनेको भने होइन। परिवारलाई सुखी राख्न उनले धेरै चिज त्यागेकी छिन्। रमाइलो गर्नुपर्ने, नाच्नुपर्ने, घुम्नुपर्ने स्वभावकी उनले यी सबैलाई छाडेर आफ्नो भन्दा परिवारको खुशीलाई प्राथमिकता दिएकी छिन्। आपत विपत पर्दा परिवार भन्दा पिडित र प्रभावितहरुको दुखको साथी बन्नमा आफ्नो समय खर्चिएकी छिन्।
परिवार र समाजको भलाईमा उनले आफ्ना कयौं खुशीहरुलाई मनमै कैद गरेर राखेकी छिन्। जसलाई चुक्कुल लगाएर थुन्ने काम जानी नजानी मैले पनि गरिरहेको छु जस्तो लाग्छ। उनको स्वतन्त्रतामा कतिपय समय हस्तक्षेप पनि गरेको छु। उनले गर्न हुँदैन भनेका कतिपय कामहरु गरेको छु। मलाई थाहा छ मैले कयौं पटक उनको मन दुखाएको छु।
मेरो मनले चाहेका कुरा उनले गर्दा मलाई खुशी मिलेजस्तै उनलाई खुशी दिन म थुप्रै पटक चुकेको छु। तै पनि तिमीले गुनासो होइन माया मात्रै दियौ। तिम्रो प्रेमले मेरो संसार उज्यालो भएको छ।
केहिलाई लाग्न सक्छ कुञ्जना बाठी छे, घमण्डी छे, बढी बोल्छे। टाढाबाट हेर्नेहरुले जसरी पनि विश्लेषण गर्न सक्छन् तर नजिकबाट उनलाई बुझेकाले मलाई लाग्छ बरु म खराब हुँला उनी साँच्चीकै असल छिन।
उनको हृदय कोमल छ जुन कुरा मैले शब्दमा बताउन सक्दिन। त्यहि कोमल हृदयमा यात्रा गरेको पनि आज १३ वर्ष पुरा भएर १४ वर्ष लागेछ। उनीसँग बिताएका हरेक पल नौलो अनि मिठा लाग्छन।
१३ वर्ष १३ दिन जस्तै भएको छ अझै जुनी जुनी उनीसँग यात्रा गर्न पाउँ भगवानसँग यहि कामना छ मेरो। वैवाहिक वर्षगाँठको उपलक्ष्यमा हामीलाई साथ सहयोग शुभकामना अनि माया दिनुहुने सम्पूर्ण शुभचिन्तक एवं शुभेच्छुक हामीलाई जन्मदिने बुवाआमा, सधैँ हाम्रो वरिपरी रहने भाइबहिनी आफन्त अनि साथीभाइहरुलाई हृदयदेखि नमन गर्दछु।”
प्रकाशन मिति–२०७८ साल मंसीर १४ गते मंगलवार ।