–बिमला कोइराला काठमाडौं। शताब्दी कै ठूलो संकटले सम्पूर्ण विश्व आक्रान्त छ। विश्वका धेरै मुलुक एउटा रहस्मय रोग कोभिड–१९ (कोरोना भाइरस) को चपेटामा निस्सासिएर छटपटाएका छन्।
अन्धाधुन्ध विकासे दौडको प्रतिस्पर्धाबाट विश्वले वाँध्यतावश विश्राम लिनुपरेको छ। यसको प्रभावले कति समयसम्म मानव विकासलाई अवरुद्ध वनाउने हो ? त्यसको विभिन्न अनुमानहरु आएपनि आधुनिक विज्ञानको आधिकारीक सूचना हालसम्म प्राप्त भएको छैन। यो भय चिन्ता र अन्योल विरुद्ध लड्न विश्व विज्ञान आफ्नो खोज, अनुसन्धान र प्रयोगमा व्यस्त छ। यो खोज र अनुसन्धान कुनैदिन प्रयोगसिद्ध हुनेछ भन्नेमा हामी आशावादी छौं ।
यो आलेख तयार गरुन्जेलसम्म (ई.सं.२०२० मे १८ अपरान्ह १२ बजे) विश्वमा हाल ४८ लाख ब्यक्ति प्रभावित भैसकेका छन् भने ३ लाख १६ हजार व्यक्ति मृत्यु भैसकेको अशुभ वास्तविकता लेख्दै गर्दा हाम्रो देश नेपालमा पनि हालसम्म ३०४ प्रभावित र २ जनाको मृत्यु भैसकेको समाचारहरु प्राप्त भएका छन्। रोगसर्ने तरीका मनन गरी परीक्षणको दायरा तिव्र गतीमा बढाउँने हो भने अहिलेसम्मको संख्यात्मक बृद्धि दोब्बर र तेब्बर हुने निश्चित छ।
देश पूर्ण लकडाउनमा छ अत्यावश्यक सेवावाहेक। सवै नागरिकहरुले आ–आफ्नो घर मै बसिदिएर आफ्नो सुरक्षा गरी अरुलाई पनि सुरक्षित बनाउने कर्तब्य पालना गर्नुभएको छ। जोखिमपूर्ण अवस्थामा अग्रपङ्क्तििमा बसेर सेवा प्रवाह गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, सञ्चारकर्मी, एम्बुलेन्स, दमकल,स्थानीयतहका जनप्रतिनिधि र कर्मचारीहरुको नियति अहिले मैदानमा खटिदै हरेक बेलुकी “धन्न म अहिलेसम्म सुरक्षित छु” भन्नु वाहेक अर्को विकल्प छैन।
दैनिक रुपमा धेरै नागरिकको प्रत्यक्ष सम्पर्कमा आउनुपर्ने र फितलो हतियारको भरमा अदृश्य रोगसँग लडन अनवरत मैदानमा खटिनुपर्ने जिम्मेवारी सवैले आ–आफ्नो क्षेत्रमा खटिएर पूरा गर्नैपर्छ र गरेकाछन् र गरिरहनेछन्। आफ्ना सबै परिवार घरमा बस्दा आफूमात्र कार्यस्थलमा खटिनुपर्ने र आफू संक्रणमित भए परिवारलाई पनि सार्न सक्ने भयग्रस्त मानसिकताको अनुमान भुक्त्तभोगीहरु बाहेक अरुले कदापी लगाउन सक्दैनन्।
त्यसका लागि नागरिकहरुको तर्फबाट पु-याउने सहयोग भनेको घरभित्रै बसेरपनि उनीहरुप्रति अलिकति कृतज्ञताभाव प्रकट गरेर सकारात्मक सल्लाह सुझाव सहितको मनोबल उच्च बनाउने शब्द मात्रै हो। राज्यले तलब सुविधा दिएको छ–काम नगरेर हुन्छ भन्ने निर्मम र रुखो आवाज आफै भित्रभित्रै विथोििलएको अवस्थामा कति पीडादायी हुन्छ ! स्वतः अनुमान लगाउँन सकिन्छ। आम नागरिकले सकारात्मक मात्र बोली दिंदा काम गर्न खटिएको व्यक्ति बामे मात्रै सर्ने होइन दौडिने मनोबल तयार हुन सक्छभने किन नबोल्ने !
सन्दर्भ यहि जेठ २ गते काठमाडौं महानगरपालिका नगर कार्यपालिका कार्यालय वातावरण व्यवस्थापन विभाग मातहतका ९३४ जना कर्मचारीको आरडिटि ( -यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षण गर्दा ३१ जनामा आरडिटि पोजिटिभ देखिएको समाचारको हो ।
जसमध्ये अधिकांश कर्मचारी राजधानी सहर सफा र हरियाली बनाउने काममा फिल्डमा खटिएका कर्मचारीहरु हुन् जो हाम्रो जुठो र रछ्यान समेत तह लगाउँछन्। असाध्य भयग्रस्त मानसिकतामा उनीहरुलाई एकदिन क्वारेन्टीनमा राखी पीसिआर टेष्ट गरियो। यद्यपि यसपटक सबैको पीसीआर परीक्षण नेगेटिभ नै आयो।
तरपनि अझै उनीहरु सुरक्षित छैनन् र थप कर्मचारीहरुको पनि क्रमशः परीक्षण भैरहेकोछ। जहाँ कर्तब्यका कठोर नियमहरु जोडिएका छन् त्यहाँ जोखिम त हुन्छन नै। उनीहरु त जिम्मेवारी र कर्तब्यले अठ्याएको जोखिम सामना गर्न जागिरमा समर्पित भएकै हुन जुनसुकै अवस्थामा पनि त्यो कर्तब्य पूरा गर्छन।
त्यसमा नागरिकले थोरै सहयोग गरीदिंदा वातावरण अझै सहज र काम गर्न प्रशस्त उर्जा प्राप्त हुन्छ। प्रारम्भिक परीक्षणले अलिकति झस्किएका उनीहरुले आगामी दिनमा कामगर्दा अपनाउनुपर्ने सावधानी साधनस्रोतले धानेसम्म र आफूले जानेसम्म त अपनाउलान तर नागरिकहरु कै सेवामा समर्पित उनीहरुलाई जिम्मेवार नागरिकहरुको अलिकति सावधानीले पनि ठूलो सहयोग गर्नसक्छ।
काठमाडौं महानगरपालिकामा सरसफाईमा काम गर्ने कर्मचारीहरु जोखिमपूर्ण कामको कारण कतिपय दीर्घ रोगी भईसकेका छन् भने औषत आयु पनि तुलनात्मक रुपमा धेरै कम छ। कमजोर व्यवस्थापकीय प्रवन्ध र सेवा सुरक्षाका बीच अहोरात्र फिल्डमा खटिनुपर्ने सफार्इृका कर्मचारीहरुले विहान झिंसमिसेदेखि नै सडक, मठ, मन्दिर, पाटी, पौवा सार्वजनिक स्थल सफा नगरिदिए देशले अर्को महामारी देख्नुपर्ने हुन्छ।
श्रमलाई सानोठूलो भनेर हेर्ने हेपाहा प्रबृत्तिको हाम्रो जस्तो सामाजिक परिवेशमा सडकमा कामगर्दा नागरिकको नराम्रो व्यवहारबाट अपहेलित हुनुपरेको तितो अनुभव बोकेका सफाईकर्मीहरु असुरक्षित तरिकाले जत्रतत्र प्रयोग गरेर फालिएका मास्कहरु सेनिटाइजरका बोतल अहिले असुरक्षाको कारक बन्दैछन्।
हामी आफ्नो सुरक्षा गर्न त मास्क लगाउँछौं तर उचित व्यवस्थापन गरेर अरुलाई जोगाउनेतर्फ सचेतता पटक्कै अपनाउदैनौ। जताततै सिंगान खकार नफाल्ने, र प्रयोग गरिसकेका यस्ता बस्तुहरु राम्रोसँग प्याक गरेर निश्चित स्थानमा व्यवस्थापन गरीदिने हो भने न सहर कुरुप हुन्छ न सरसफाईकर्मीहरु संक्रणमित। हामीले गर्नसक्ने सानो सहयोग गरिदिँदा कामगर्ने सरसफाईकर्मीहरु पनि सुरक्षित हुन सक्दछन्। उनीहरु असुरक्षित हुनु भनेको पूरै सहर कै लागि जोखिम हो।
धेरै सरकारी निकाय र कार्यालयहरुमध्ये लकडाउन कै दिनदेखि आजसम्म पनि एकदिन पनि बन्द नभएको कार्यालय हो–काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय । अत्यावश्यक सेवाहरु अहिलेपनि निरन्तर छन्। राहत वितरण, सामान्य स्वास्थ्य सेवा, कोरोना परीक्षण (उपलब्ध भएसम्म) खोप कार्यक्रम, सचेतना कार्यक्रम, एम्वुलेन्स, दमकल, ढल मर्मत, तरकारी बजार व्यवस्थापन जस्ता सेवाहरुमा जनशक्ति परिचालन भैरहेका छन् ।
जनप्रतिनिधि र कर्मचारीहरु नागरिकको घरघरमा पुगेर राहत वितरण गर्नेदेखि टोल टोलमा खाना पकाएर ख्वाउने जस्ता कार्यहरु नियमित गरिरहेका छन्। स्वास्थ्यस्वयम्सेविकाहरुलाई घरघरमा खटाई विदेशबाट फर्किएकाहरुको तथ्यांक घरघर पुगेर संकलन गरी आरडीटि टेष्ट गराईसकिएको छ।
काठमाडौं सहर अन्त्यन्त धेरै विविधता र जटीलता बोकेको सहर हो। स्थायी र अस्थायी गरेर सबैजसो जिल्लाका मानिसहरुलाई यो सहरको यसरी नशा लागेको छ कि रिसउठे सहरलाई बेस्सरी गाली गर्दै गाउँ फर्किन्छन् अनि फेरि खुसउठे नक्कली प्रेम दर्शाउदै यही शहरमा भित्रिन्छन्।
सबैलाई उदार मनले स्वागत गर्ने क्रममा सामथ्र्यले थेग्नेभन्दा बढी बोझ बोकेर विना योजना भू धरातलीय स्वरुप नै कुरुप बनाएको यो सहरसँग आवश्यकताभन्दा बढी अपेक्षा राख्छन् नागरिकहरु, त्यो पनि आफ्नो कर्तव्य पूरा नगरी। त्यसैले त हिजो लकडाउनको अवस्थामा नागरिकलाई सहर छोडेर नजानुस् भोकै मर्न दिन्नौ भनेर प्रतिवद्धता व्यक्त्त गर्दापनि सुनेनन्।
आज नफर्किनुस, फर्कनैपरे चेकजाँच गरेर मात्र प्रवेश गर्नुसभन्दा पनि अटेरी प्रबृत्ति हावी भैरहेकोछ। कठोर कारवाहीका लागि स्वायत्त अधिकार अझै अलमलमा छ। देशभरका स्थानीय सरकारको विडम्वना नै यही हो गर्नुपर्ने र गर्नखोजेका धेरै काम बीचको संरचनागत अलमल र विश्वासको कमी। अलमलिनुपर्ने बाध्यता बोकेको स्थानीय सरकार होइन, बलियो र अधिकार सम्पन्न स्थानीय सरकारका लागि अब सवैको सकारात्मक साथ जरुरी छ। (लेखक काठमाडौं महानगरपालिकामा सामाजिक विकास महाशाखा प्रमुख हुनुहुन्छ।) प्रकाशन मिति–२०७७ साल जेठ ५ गते सोमवार ।