काठमाडौ। तराई मूलका हिन्दू धर्मावलम्वी नेपालीहरुको महान पर्व छठ पर्वको आज तेश्रो तथा अन्तिम दिन सूर्य तथा षष्ठी मातालाई अर्घ दिएर मनाउने कार्य भएको छ। छठ पर्व मनाउंदा दुःखवाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख–शान्ति मिल्ने विश्वास रहेको छ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ। चतुर्थीदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो जस्ता खाद्यान्न सेवन गर्दैनन्। चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ।
मनोकामना पूरा हुने विश्वासमा महिलाले छठमा कठोर ब्रत गर्ने गर्दछन्। सूर्य देवतालाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाईसहितका प्रसाद अर्पण गरिन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्ठी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ। पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ।
जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुको घुईचो लाग्ने गर्छ। दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला हुने गर्दछन्। सप्तरीको कोशी व्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर, हनुमाननगर, बीरेन्द्रबजार, सीतापुर, महुली, रुपनी, बर्साइन, पातो, कल्याणपुर, कडरबोना, मानराजा, सखडा, सदरमुकाम राजविराजसहितका स्थानहरुमा पनि उत्तिकै उल्लासले यो पर्व मनाइन्छ। कोशीव्यारेजमा भारतको पूर्णिया, फारबिसगञ्ज, राजपुरसहित स्थानबाट छठ मनाउन सयौं ब्रतालु आउने गर्छन्।
वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको रमझम उत्तिकै छ । छठ पर्व नवलपरासीमा पनि धुमधामसँग मनाईदै छ । परासीसंँगै उनवच, त्रिवेणी, नवलपुर क्षेत्रलगायतका नदी र तालहरुमा पनि पूजाआजाका लागि भक्तजन पुग्ने गर्छन्। मिथिलाञ्चलको आस्थाको रुपमा मानिने छठ तराईका जिल्लाका साथै राजधानीमा समेत मनाईंदै छ ।
उता, झापाको मेची नदी, विरीङ, मावा, रतुवा, निन्दालगायतका नदीमा घाट निमार्ण गरेर पूजाआज गरिँदैछ। काठमाडौंमा भने गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ। बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पूजा गर्ने कार्यक्रम छ।
रानीपाखरी भने गत वर्षको भूकम्पका कारण भत्किएकाले प्रभावित भएको छ। आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको बनाउन भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग यस पर्वसँग जोडिएको छ। त्यसैगरी महाभारतकालमा द्रौपदीसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ।
प्रकाशन मिति–२०७३ साल कात्तिक २१ गते । नेपाल संवत कछला खस्ति ।