लमजुङ्ग। घरभाडा नतिरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङको कार्यालयमा ताला लागेको छ। तीन वर्षअघिदेखि भाडा नदिइएको भन्दै घरधनी बालकृष्ण वाग्लेले कार्यलयमा ताला लगाएका हुन्। बेंसीशहर नगरपालिका–८ शेरा ओरालोमा रहेको वाग्लेका घरमा राप्रपा कार्यालय छ।
आठ वर्षदेखि कार्यालय राखिएकामा विसं.२०७१ सालदेखि भाडा नपाएको घरधनी वाग्लेले बताएका छन्। वाग्लेले बेसीशहरमा सोमवार पत्रकार भेटघाट गरी राप्रपासँग घरभाडा बापतको रु एक लाख ५९ हजार लिन बाँकी रहेको खुलासा गरेका छन्।
वाग्लेका अनुसार राप्रपासँग २०७१ सालको रु ३० हजार, २०७२ सालको रु ५४ हजार, २०७३ सालको रु ६० हजार र २०७४ सालको वैशाखदेखि असार मसान्तसम्मको रु १५ हजार भाडा लिन बाँकी छ। राप्रपा अध्यक्ष इन्द्रबहादुर मल्लले राप्रपा नेपाल हुँदादेखिको भाडा बाँकी रहेको र धेरै रकम भएकाले एकमुष्ट तिर्न कठिन भएको भनेका छन्।
प्रकाशन मिति–२०७४ साल साउन १० गते मंगलवार ।