काठमाडौ। तराईमूलका हिन्दूहरुका महान पर्व छठ शुक्रबारवाट विधिवत रुपमा शुरु भएको छ। कात्तिक शुक्ल पक्षमा चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन अर्थात् शुक्रबारको दिनलाई नहाए खाए(नुहाउने खाने) दिन पनि भन्ने गरिन्छ।
छठ पर्बको पहिलो दिन शुक्रबार छठका व्रतालुले खोला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भइ बिहान र बेलुकी लसुन र प्याज बेगरको चोखो साकाहारी खाना खाएका छन्। छठको दोश्रो दिन शनिवार अर्थात् पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ। खरनाका दिन व्रतालु दिनभरि निर्जला व्रत बस्छन् र साँझपख नुहाएर चोखो हुँदै आफ्नो कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाएर त्यसैमा चामल र भेली र सख्खरको खीर (रसीआव) तथा गहँुको रोटी प्रसादका रुपमा पकाउँछन्। उक्त प्रसाद अर्थात् रसीआव रोटी चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालु उक्त प्रसाद ग्रहण गरेर निर्जला ब्रत बस्छन्।
छठको तेश्रो दिन अर्थात षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ। जसलाइ सँझीया घाटे पनि भनिन्छ। त्यस दिन ब्रतालु मलिाले नदी, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउदो सुर्यलाई र दोस्रोदिन सप्तमीमा बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा सकिन्छ।
छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिने गरिन्छ। अर्घ दिनका लागि ब्रतालुले गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गर्छन् । यस्तै मुला, गाजर, बेसारको हरियो बोट, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उँखु , बोडीलगायतका फलफूल पनि सूर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ।
अत्यन्त कठिन र निष्ठापूर्वक मनाइने छठ पर्वमा सन्तान र परिवारको सुख शान्ति तथा रक्षाको कामना गर्दै छठी माता र सूर्य भवानको पूजा गरिन्छ। छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने पनि धार्मीक जनविश्वास रही आएको छ।
प्रकाशन मिति–२०७३ साल कात्तिक २० गते शनिवार । नेपाल संवत ११३७ कछला खस्ति ।