काठमाडौं। दशैं तथा तिहार सकेको लगतै तराईका नेपालीहरुको महान पर्व छठको रौनकता शुरु भएको छ। जनकपुरधाम मिथिलाञ्चल लगायतका तराई क्षेत्रमा आस्थाको महापर्व छठ औपचारिक रुपमा शुक्रबारदेखि सुरु भएको हो।
पर्वको पहिलो दिन आज ‘नहाय खाय’ विधि मनाएको छ। श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि जनकपुरधामलगायत तराई–मधेसको विभिन्न स्थानमा अन्तिम तयारी पूरा भएको पनि समाचार छ।
कात्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व सप्तमी तिथिका दिन सम्पन्न हुन्छ। यो पर्वमा सूर्यदेवको उपासना गरिन्छ। हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ।
पहिलो दिन सूर्य देवतालाई अर्घ्य अर्पण गरिन्छ जसलाई मैथिली भाषामा ‘सझुँका अघ्र्य’ भनिन्छ। साँझका समयमा सूर्य देवतालाई प्रसादका रुपमा दिइने अघ्र्य नै पुनःबिहानको समयमा अर्थात् ‘भोरका अर्घ्य’ मा दिइने परम्परा छ।
छठ व्रत गर्ने सबै जना चौथी तिथिका दिन नुहाइधुवाइ गरी चोखो भई ‘अर्वाअर्वाइन’ खाने गर्दछन्।
यही तिथिका दिनदेखि छठ पर्व औपचारिकरुपमा प्रारम्भ हुने गर्दछ। यस दिन व्रत गर्ने महिला र पुरुष नुहाइधुवाइ गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन खाने गर्दछन्।
कात्तिक शुक्ल पञ्चमी तिथिका दिनभरि पर्व गर्ने वर्तालु उपवास गर्ने गर्दछन् । उक्त दिन साँझमा माटोले बनाइएको नयाँ चुल्होमा नयाँ माटोको भाँडामा अरबा चामलको खिर बनाउने गरिन्छ।
सख्खर हालेर बनाइएको खिर देवीदेवतालाई प्रसादका रुपमा चढाइन्छ र उक्त प्रसादस्वरुप खिर वर्तालुका साथै घरका अन्य सदस्यले ग्रहण गर्दछन्। जसलाई मिथिलाञ्चलमा खरना भनिन्छ। कात्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिला डुब्दै गरेको सूर्यलाई अर्घ्य दिन्छन्।
साँझका समयमा घण्टौंसम्म जलमा रही नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतमा राखिएका प्रसाद लिएर डुब्दै गरेको सूर्यलाई अर्घ्य चढाउने गरिन्छ। उक्त दिन छठ व्रत गर्नेको घरका सबै सदस्य प्रायःरातभर पोखरीको घाटमा जाग्राम बस्ने गर्दछन्। छठको प्रसादमा ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिँगार, फलफूल, पान, सुपारी, धूप, दीप आदि रहन्छ।
प्रकाशन मिति–२०७९ साल कात्तिक ११ गते शुक्रवार ।