काठमाडौं। काठमाडौंको ठमेलस्थित ऐतिहासिक कमलपोखरी अतिक्रमण गरेर छायाँदेवी कम्प्लेक्स बनाइएकोमा भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । भू–माफियाको मिलेमतोमा ऐतिहासिक कमलपोखरी मासेर निजी स्वार्थका लागि व्यापारीक कम्प्लेक्स निर्माण गरिएको आरोप लगाउँदै स्थानीयले प्रदर्शन गरेका हुन्।
नेवाः राजनीतिक अभियानले आज आइतवार इन्द्रचोकबाट निकालेको विरोध र्याली ठमेलस्थित छायाँदेवी कम्प्लेक्समा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नागरिक अगुवाहरुले ऐतिहासिक र पुरातात्विक महत्वको सार्वजनिक सम्पदा अतिक्रमण भएको भन्दै त्यसलाई पुनः सार्वजनिक सम्पदाकै रुपमा काम गर्न माग गरेका छन्। उनीहरुले स्थानीयका मागका विषयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकार तथा काठमाडौं महानगरपालिका मौन बसेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिए।
र्याली र कोणसभामा सहभागीहरुले भूमाफियाको प्रलोभनमा परेर सरकारी कर्मचारीले कमलपोखरी अतिक्रमण गर्दा पनि काठमाडौंं महानगरपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेकोप्रति पनि आपत्ति जनाएका थिए।
प्रकाशन मिति–२०७६ साल साउन १९ गते आइतवार ।