–निशान बुढाथोकी
समयलाई कोल्टे पारेर हेर्दा, हाम्रो समाज त्यही हो, जहाँ महिलालाई वस्तुको रुपमा लिइन्थ्यो । तर आज समय बदलिएको छ । बस्तु सरह व्यवहारले पिल्सिएकी त्यही महिलाले आज चमत्कारपूर्ण फड्को मारेकी छिन्। जसको प्रमाण हो, निति निर्माणको तहदेखि घर व्यवहारसम्मको क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिका। यो भुमिकालाई महिलाले अझ सशक्त बनाउँदै लगेका पनि छन्। यद्यपि अझै पनि सबै वर्गका महिला सशक्त हुन भने बाँकी नै छन्। हरेक मानिसलाई अवसरको खाँचो पर्छ।
त्यही अवसरलाई समात्न सक्यो भने जीवनमा संघर्ष गरेको पनि मजा आउँछ र सफलता आफ्नै हातमा आउँछ । इलाममा जन्मिएकी भूमिका आचार्यलाई आजको मिति सम्म यहाँसम्म आइपुग्छु भन्ने थाहै थिएन । निडर स्वभावकी उनी २०६८ सालबाट महिला शक्ति विकास केन्द्र नेपालमा क्षेत्रिय संयोजकको रुपमा काम गर्दै आएकी आचार्य कामले काम सिकाउने र अनुभवले ज्ञान सिकाउने बताउँछिन्।
अप्सरा चापागाईं दिदी र आफू वन सम्बन्धि कार्यक्रममा संगै काम गर्ने क्रममा चिनजान भएको र उहाँले यस संस्थामा क्षेत्रिय संयोजकको आवश्यकता परेको जानकारी गराएको बताउँछिन्। इलामकै शुसिला नेम्वाङ्ग मार्फत आफू यस संस्थामा आउन पाएको स्मरण गर्छिन्। महिला त्यसमा पनि एकल महिलालाई हेर्ने दृष्टिकोण फरक भएको अवस्थामा घर बाहिर काम गर्न धेरै गाह्रो भएको सुनाउँछिन् । घर बाहिर मात्र हिड्ने, घरको काम नगर्ने भनेर घर परिवारलाई भन्दा पनि समाजलाई धेरै चासो हुने गरेको बताउँछिन् । हाम्रो जस्तो मूलुकमा महिलालाई हेर्ने दृष्टिकोणमा आजसम्म पनि परिवर्तन नभएकोमा दुखोसो पोख्छिन्। जो हिड्छ उसले देख्छ, जो भोग्छ उसले बुझ्छ भन्ने सोच्छिन्।
तर आफूलाई घर परिवारबाट साथ र सहयोग सधै प्राप्त भएकोले आफू एकल भएको महसुस पनि नभएको बताउँछिन्। सानै देखि आफूलाई समाज सेवा गर्दा मन खुशी हुने आचार्य समाजको लागि केही न केही गरेर देखाउने दाबी गर्छिन् । एकल महिलाको लागि अहिले पनि काम गर्दै आइरहेको बताउँछिन् । डब्लु.एच. आर.मा पनि आबद्ध छिन्।
त्यसो त उनी राजनितिमा पनि सक्रिय छिन्। बिद्यार्थीकाल देखि नै राजनिति गर्दै आएकी उनी जब सम्म महिला निति निर्माणको तहमा अगाडि आउन सक्दैनन् तब सम्म जति नै काम गरे पनि पछि नै पर्ने बताउँछिन् । हिड्ने मान्छे लड्छ , दौडिने मान्छेको खुट्टा सबैले तान्छ। जब आफू घर बाहिर काम गर्न भनेर बाहिर निस्किदा अनेकौ चुनौतीको सामना गर्न परेको बताउँछिन् । युवा अवस्थामा आफू एकल हुँदा मानिसहरुको हेर्ने दृष्टिकोण नै फरक थियो, तर त्यस्तो कुरालाई आफूले कहिले पनि वास्ता नगरेको स्मरण गछिन् । श्रीमानको देहान्त भएपछि घरमा आफूले भोग्नु परेको पिडा र सहन परेको दुःख सम्झिदा आज पनि आँखा रसाउने गरेको बताउछिन्। आफूले गलत नगरे एक दिन सत्यको अवश्य जित हुने कुरामा उनी ढुक्क थिइन्।
हाम्रो समाज त्यही हो, जहाँ महिलाले श्रीमानको मृत्यु पश्चात श्रीमानकै चितामा जिउँदै प्राण त्याग गर्नुपर्ने । रजस्वला नहुँदै अभिभावकको आदेशमा विवाहको अर्थ जान्न नपाउँदै पराइ घर जानुपर्ने । महिलालाई बस्तुको रुपमा चित्रित गर्ने यि प्रतिनिधि कुसंस्कार बाहेकका संस्कारहरुमध्ये कतिपय संस्कार त अझै पनि हाम्रो समाजमा जिउँदै छन् । जसले महिलाको व्यक्तित्व विकासमा वाधा पुर्याइरहेका छन्। तर यस्ता बाधा व्यवधानलाई चिर्दै महिला चौघेरामा सिमित बस्तु र सन्तान मात्र जन्माउने मेसिन होइनन्, समाज हाक्ने शक्ति पनि हुन् भन्ने कुरामा जोड दिन्छन्।
जो महिलाहरु आफूमा क्षमता भएर पनि चौघेरामा बस्न बाध्य छन्,उनीहरुलाई आफ्नो घर परिवार व्यवस्थापन गरेर बाहिर निस्कन आग्रह पनि गर्छिन्। जीवन संघर्ष हो, आफूले जसरी जिउने हो त्यसरी नै जिउन सकिन्छ। तर, सकारात्मक सोच चाँहि हुन जरुरी छ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल भाद्र २४ गते शुक्रवार ।