अन्न र जलका देवता रातो मच्छिन्द्रनाथको नेपाल (काठमाडौं) प्रवेशसँगै कुमारी प्रतिस्थापन गर्ने परम्परा बसेको हो। मच्छिन्द्रनाथलाई काठमाडौं ल्याउँदा कोदुवाल दह आइपुगेपछि उनले भनिछन्– ‘कुमारी प्रतिस्थापन नभएसम्म म बुङमती प्रवेश गर्दिनँ।’ त्यसपछि तान्त्रिक बन्धुदत्त बज्राचार्यले आफ्नै छोरीलाई बुङमतीमा कुमारीका रूपमा प्रतिस्थापन गरेको किम्बदन्ती छ।

बुङमतीमा आजभन्दा १४४० वर्षअघि नै कुमारी परम्परा बसेको इतिहास रहेको छ। कलिगत सम्बत ३६७६ मा रातो मच्छिन्द्रनाथको काठमाडौं प्रवेश भएको इतिहासमा उल्लेख रहेका पाइन्छ। अहिले कलिगत सम्बत ५११६ हो। यसैअनुसार लिच्छवि राजा गुणकामदेवले कन्या केटीलाई कुमारी बनाई पूजा गर्ने परम्परा बसाएको इतिहासका पन्नाहरुमा लेखिएको पाइन्छ।

मल्लकालमा काठमाडौं, पाटन र भक्तपुर तीनै राज्यमा दरबारको राजकीय कुमारी र टोलटोलमा स्थानीय कुमारी थापना गरी नित्य पूजा गर्ने परम्परा सुरु भएको पाइन्छ। काठमाडौं उपत्यकामा तान्त्रिक पद्धतिअनुसार विधिवत थापना गरिनेमध्ये वसन्तपुरको ‘राजकीय’ कुमारी ‘जीवित देवी’ का रूपमा विश्वप्रसिद्ध छ।

यसअतिरिक्त नित्य पूजा हुने कुमारीमा मूबहाः, क्वाबहाः, तानाबहाः, किलागः, चाबहिल, टोखा, हःबहाः, सोनिम्ह, एकान्त, वने लाय्कू, टिबुक्छेँ, बुङमती र त्रिशूली कुमारी छन्। वसन्तपुरको घरमा प्रतिस्थापित कुमारीलाई इष्टदेवी तुलजा भवानीको प्रतीकसमेत मानिँदै आएको छ।

बिक्रम सम्बत् १३८१ मा सिमरावनगढका राजा हरिसिंहदेव तुलजा भवानीसहित नेपाल (हाल काठमाडौं उपत्यका) आएका थिए। त्यसै बेला हरिसिंहदेवकी रानी देवलदेवीले भादगाउँको दरबारमा तुलजा भवानी स्थापना गरेकी थिइन्। त्यसपछि मल्ल राजाहरूले तुलजा भवानीलाई इष्टदेवीका रूपमा मान्न थाले।

मल्ल राजाहरूसँग एक प्रकारको तान्त्रिक यन्त्र थियो। त्यसको शक्तिद्वारा उनीहरू तुलजा भवानीसँग प्रत्यक्ष वार्ता गर्थे रे। राजकाजसम्बन्धी सरसल्लाह लिन्थे रे। र, समयसमयमा पासासमेत खेल्थे रे। एकदिन राजा त्रैलोक्य मल्लकी छोरी गंगादेवीले तान्त्रिक यन्त्र खोलेर हेरिछन्। त्यो यन्त्र कुनै स्त्रीले हेर्न हुँदैनथ्यो रे। तुलजा भवानीले रिसाएर राजालाई भनिछन्–, ‘अबदेखि तिमीहरूले मेरो प्रत्यक्ष दर्शन पाउने छैनौ। बरु म कुमारीका रूपमा आई तिमीहरूलाई आवश्यक सल्लाह दिनेछु।’ तुलजा भवानीले आदेश दिइछन्–, ‘शाक्य कूलकी कन्यालाई कुमारी बनाउनू।’

पछि कान्तिपुरका अन्तिम मल्लराजा जयप्रकाशलाई एक रात सपनामा कुमारीबाट आज्ञा भयो रे, ‘तिम्रो राज्यभोग समय समाप्त हुन लाग्यो, आफ्नो राज्य अवधि बढाउने इच्छा भए मेरो लागि स्थायी बासस्थान बनाइदिनू र रथयात्रा चलाउनू। यति गरे तिम्रो राज्यभोग १२ वर्ष बढ्नेछ।’

जयप्रकाश मल्लले सपनामा पाएको त्यही आदेशअनुसार विसं १८१३ फागुनमा कुमारीघरको जग हालेको भनाइ छ। यसको निर्माण ६ महिनापछि १८१४ भदौमा पूरा भएको थियो। उनले त्यसै वर्षबाट कुमारी, गणेश र भैरव रथयात्रा सुरु गराएका थिए। कुमारीघर व्यवस्थापन र कुमारीको रेखदेख निम्ति चिताइदारको व्यवस्थासमेत गरे। यसैको प्रभावले जयप्रकाशको राज्यकाल १२ वर्ष थपियो भन्ने भनाइ छ।

बालबालिकाको हृदय पवित्र हुन्छ। छल, कपट, राग, द्वेषको भावना हुँदैन। त्यसैले, तुलजा भवानीले कुमारीको रूप धारण गरेकी हुन्। र, शाक्य कूलकी कन्यालाई कुमारी बनाएर तुलजा भवानीको प्रतिकका रूपमा पूजा गर्ने चलन चल्दै आएको हो।

कुमारी देवीसँग काठमाडौंका धेरै जात्रा र पर्व जोडिएका छन्। इन्द्रजात्रा, घोडेजात्रा, मच्छिन्द्रनाथ जात्रा लगायत गरी वसन्तपुरकी कुमारीलाई वर्षमा १३ पटक कुमारीघरबाट बाहिर निकालिन्छ। अन्य नेवार चाडपर्वमा पनि उनको रथयात्रा हुन्छ। कुमारीले रथयात्रा तथा अन्य अवसरमा पहिरिने आभूषण पनि विशिष्ट हुन्छन्।

यसमा रातो र सक्कली तासको चौबन्दी चौलो र जामा, शिरमा जालीदार रातो धागो, मौलिक र कलात्मक तायो, त्रिकोण आकारको साधारण र नवरत्नजडित मुकुट, तुलसी पत्ता लच्किएको सिंगुली माला (नरमुण्ड मला) प्रमुख छन्। जन्त्रका माला, घुंघुरु, बाला, चुरा, जभि, नागमाला र बेरुवा औंठी पनि लगाइन्छ।


(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल भदौं २८ गते शनिवार ।