काठमाडौ । प्रत्येक बर्षजस्तै यो बर्षपनि जाडो शुरु भैसकेको छ । जाडोको यो मौसममा धेरैलाई अरुले भन्दा जाडोले नै सताएको पाइन्छ । ऋतु परिवर्तन हुने क्रममा हेमन्त ऋतुको यो जाडो मौसममा विहान परेको तुसारो तथा दिनभरको हुस्सु र रातमा हुने अत्यन्त चिसोले बाताबरण बैराग पार्ने गरेको छ ।
कमैलाई मात्र मन पर्ने जाडोमा विशेष गरेर तन्नेरी पुस्ता भन्दा बालबच्चा र बृद्धबृद्धाहरु पीडित बन्ने गरेको पाइन्छ । हिमाली तथा तराईका कतिपय जिल्लामा अत्यन्त जाडो तथा हुस्सु–कुहिरोका कारण कतिपयको ज्यान समेत जाने गरेको देखिन्छ ।
दमका प्राय रोगीहरुको लागि जाडो मौसम अत्यन्त कष्टप्रद महिनाको रुपमा लिइने गरेको छ । दम तथा श्वास–प्रस्वासका रोगीहरुले त जाडो महिनालाई सत्तोसराप गर्ने गरेको पनि पाइन्छ ।
जाडो महिनामा धेरैको व्यापार व्यवसाय अफसिजन हुने गरेको भएतापनि बाँक्ला पहिरनका व्यवसायीहरुको लागि बडादशैं जस्तो देखिएको छ । काठमाडौको न्यूरोड स्थित रन्जना हलमार्ग तथा तिनको वरपरका चीनिया बाँक्ला पहिरनका व्यापारीहरुका लागि भने भ्याइँनभ्याइँ भएको छ । चीनको विभिन्न प्रान्तबाट न्याना तथा बाँक्ला पहिरन आयात गरेर व्यापार गर्न तल्लिन ती व्यापारीहरुको लागि जाडो महिना खासको महिना भएको छ । अर्कोतर्फ जाडो महिनामा बढी बिबाहका लगन पनि पर्ने भएकोले बिहेबारीमा लाग्नेहरुको लागि हनिमूनको समय पनि हो ।
हनिमून जोडीहरु जाडोको बेलामा नै पोखरा लगायतका विभिन्न पर्यटकीय स्थलमा पुगेर हनिमून मनाउने क्रम तथा उपक्रममा रहेको पाइन्छ । शारीरिक बनौटलाई जाडोले परिवर्तन ल्याउने भएकोले छाला सुख्खा तथा फुस्स्रो हुने समस्या देखिने गरेको छ। अर्कोतर्फ रुघाखोकी जस्ता नियमित रोगले सताउने मौसम भएकोले पनि त्यसतर्फ सचेत हुनु आवश्यक देखिएको छ ।
अरुबेला भन्दा खाना बढी रुच्ने तथा कम व्यायाम हुने मौसम भएकोले जाडोमा आवश्यकता भन्दा मोटाउनेहरु पनि हुन्छन् । जाडोमा पनि मोटोपनलाई घटाएर फिट एण्ड फाइन बन्ने कार्यमा अल्छी हुनुहुन्न । सानो हेलचक्राईले पनि ठूला समस्या निम्त्याइने कार्य हामी कसैबाट यो मौसममा गर्नु हुन्न ।
विशेष गरेर यात्राका क्रममा हुस्सु र कुहिरोले बढी समस्या पैदा गरिदिने भएकोले अगाडिको भिजनमा कमी देखिनासाथ सवारी चालकहरुले सवारीको हेडलाइट बाँल्ने कार्य भुल्न हुँदैन । यस्तो बेलामा आवश्यक यात्रा बाहेक अनावश्यक यात्रा नगर्नु नै बेश मानिन्छ ।
फेसनेबल बन्ने नाममा भोजभतेरमा केवल सारीको भरमा जाने कतिपय परम्परा महिलाहरुमा देखिएको छ । अनि चिसोलाई किल गर्न शरीरले थाम्न नसक्ने गरेरर मदिरा पान गर्ने महिला दिदीबहिनीहरुमा नराम्रो फेसनको शुरुवात भएको पाइएको छ। त्यसो नगरिकन फेसन होइन, समय अनुरुप सुहाउंदा बाँक्ला पहिरन लाएर ती समारोहहरुमा पुग्नु राम्रो हो ।
स्वास्थ्य भन्दा ठूलो फेसन हुन सक्तैन । फेसनेबल बन्नु आफ्नो स्थानमा रहेतापनि स्वस्थकर भएर बाँच्नु ठूलो कुरा हो । यसतर्फ सवैले ध्यान दिनु आवश्यक छ ।
प्रकाशन मिति–२०७२ साल पुष १२ गते आइतवार ।