चार दशकदेखि रामेश–रायन जनताका गीत गाउँदै आएका छन् । नातामा दाजुभाइ पर्ने यो जोडी बीचमा राजनीतिक आस्थाका कारण छुट्टिए पनि ०४६ देखि निरन्तर संगीत क्षेत्रमा क्रियाशील छन् । उमेरले एक वर्ष जेठा–कान्छा यो जोडीले लोकगीतबाट गीतियात्रा सुरु गरेका हुन् । ओखलढुंगाबाट काठमाडौं आएर संगीत क्षेत्रमा स्थापित हुन यी दुईले गरेको संघर्ष निकै मर्मस्पर्शी छ । जनवादी गीत/संगीतमा रामेश रायनको जोडी ‘आइडल’ मानिन्छ ।

samanda

पहिलो भेट
ओखलढुंगालाई पहिले पूर्व ३ नम्बर भनेर चिनिन्थ्यो । जतिवेला सोलुखुम्बु, खोटाङ जिल्ला भन्ने नै थिएन । ओखलढुंगा बजार खोटाङको पश्चिमी क्षेत्र र सोलुखुम्बुका मान्छेलाई पायक पर्ने क्षेत्र पनि थियो । धेरैजसो सरकारी अड्डा यतै थिए, भोजपुर र धनकुटापछि । तराई बसाइँ सर्नेहरू राजविराजतिर झर्थे । त्यसैले ओखलढुंगा आफैँमा पूर्वको एउटा केन्द्र थियो राज्य सञ्चालन अर्थात् सत्ताको । त्यही ओखलढुंगा बजारमा चर्चित संगीतकर्मी रामेश र रायनको पहिलो भेट भएको हो ।
दुवैको पुख्र्यौली घर ओखलढुंगा नै हो । तर, रामेश पाल्पाको तानसेनमा जन्मिएका हुन्। राणाकालदेखि नै जागिरे थिए रामेशका बाबु । पश्चिम तानसेनमा जन्मिएका रामेशको बाल्यकाल पूर्वको तेह्रथुमसम्म पुग्यो । २०१६ सालपछि बल्ल ओखलढुंगा आए रामेश । २०१३ सालमै उनी आएका थिए, बाबुको जागिर तेह्रथुममै भएकाले केही महिनापछि उतै फर्किए । त्यही वर्ष पहिलो भेट भएको हो रामेश र रायनको । जब २०१८ सालमा रामेशका बाबु जागिरबाट रिटायर्ड भए, त्यसपछि रामेश र रायनको जोडी संगीत क्षेत्रमा जम्न थालेको हो ।
नाता सम्बन्ध
रामेश २००१ सालमा जन्मिएका हुन् भने रायन एक वर्षअघि २००० सालमा । रायनको मामाका छोरा हुन् रामेश । एउटै नाताभित्र भए पनि १३ वर्षको उमेरसम्म यी दुईको भेट भएन । ओखलढुंगा बजारमै थिए रायन । त्यतै जन्मेहुर्केका रायन रामेशसँगको भेटलाई जीवनको अविष्मरणीय घटनाका रूपमा सम्झिन्छन् । ‘रामेशसँगको मेरो भेट वास्तवमा एउटा संयोग र अविष्मरणीय घटना हो, एउटै नाता सम्बन्धभित्र रहेर पनि लामो समय देखभेट नै भएको थिएन,’ रायनले नयाँ पत्रिकासँग त्यतिवेलाको सन्दर्भ सम्झिए ।

ramलोकगीतले लोभिएको जोडी
जनवादी गीत–संगीतमा बलियो उपस्थिति जमाएका यी दुईले लोकगीत पनि गाए होला भनेर धेरैलाई पत्याउन मुस्किल पर्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा रामेशले कोर्डिनेसन केन्द्र हुँदै मालेको राजनीतिबाट देश र जनता ब्युँझाउने गीत–संगीत रन्काए गाउँघरमा । रायनले त्यतिवेलाको चौमको राजनीतिबाट त्यही काम गरे, जे रामेशले गर्दै थिए । तर, यो जोडीले बाँसुरी, मादल बजाउने काम भने लोकभाकाबाट गर्‍यो । रामेशले २०१६ सालतिरै तेह्रथुमबाट एसएलसी दिएका हु्न् भने रायनले ०१८ सालमा । दुवैबीच भेट भएपछि गाउँघरमा चाडवाडमा लोकभाका गुन्जिन्थ्यो ।
‘हामीले सँगै बाँसुरी बजायौँ, मादल बजायौँ अनि लोकगीत गायौँ,’ रामेशले सम्झिए २०१६ सालतिरको सन्दर्भ । रामेश त्यतिवेला संगीत भर्न खुबै रमाउँथे । अनि रायनचाहिँ शब्द लेख्न । ‘मलाई संगीत भर्न सक्छु भन्ने लाग्यो, त्यसैले रायनलाई शब्द लेख्न लगाएर मैले पहिलोपटक २०१९ सालमा संगीत भरेँ,’ रामेश भन्छन् । त्यतिवेलाको पहिलो गीत लोकगीत नै थियो । यो गीत अहिले दुवैको सम्झनामा छैन ।
‘राजाको गाउँमा’
रामेश र रायन पहिलोपटक राजाको गाउँ अर्थात् काठमाडौं प्रवेश गरे २०१९ साउनमा । आठ दिन लगाएर यो जोडी ओखलढुंगाबाट रामेछाप, दोलखा, काभ्रे हुँदै उपत्यका प्रवेश गरेको थियो । सन्दर्भ थियो लोकगीतकै । गाउँघरमा यो जोडीले २०१८ देखि २०१९ सालतिरै चर्चा कमाइसकेको थियो । त्यसैले जुराएको हो काठमाडौंसम्मको यात्रा। त्यतिवेला राजा महेन्द्रले नेपाली लोकगीतको संरक्षण र प्रचार–प्रसारमा जोड दिने नीति लिएका थिए । २०१९ साउनमा पञ्चायती शासनको जग सुरु भए पनि संविधान राजाले ल्याइसकेका थिएनन् । त्यहीवेला राजाको निर्देशनमा रेडियो नेपालले आयोजना गरेको थियो लोकगीत प्रतियोगिता । रेडियो नेपालले ‘अखिल नेपाल राष्ट्रिय लोकगीत सम्मेलन’ भनेर देशव्यापी प्रतियोगिता आयोजना गर्‍यो । अनि रामेश र रायन आए काठमाडौं सगरमाथा अञ्चलको प्रतिनिधि भएर ।
पहिलो गासमा ढुंगा
‘गाई चर्नेमा भैँसी चर्‍यो वनको सेखी झर्‍यो
वनको राजा कुसुन्डालाई ‘हजुर’ भन्नुपर्‍यो’
यही लोकगीतका कारण रेडियो नेपालद्वारा आयोजित लोकगीत प्रतियोगिताको पहिलो गाँसमै ढुंगा लाग्यो यो जोडीलाई । लोकगीत गाउने ठूलो रहर बोकेर आएको यो जोडीलाई समस्या पारिदिने भने त्यतिवेलाको सेन्सर बोर्डका माधव घिमिरेलगायतको टोली हो । घिमिरेको टोलीले रामेश र रायनको यो गीत सेन्सर गरे । अनि गाउन नपाउने भए । घिमिरेले लोकगीतलाई त्यतिवेला भर्खर सुरु भएको पञ्चायती व्यवस्थासँग जोडेर बन्देज लगाइदिए । आठ दिन पैदल हिँडेर काठमाडौं आएको जोडी खर्चबर्चको समस्यामा पर्‍यो । सगरमाथा अञ्चलको प्रतिनिधित्व नै नहुने अवस्था आउँथ्यो यो जोडीले लोकगीत नगाउँदा । तर, पछि रायन र रामेशले एउटा जुक्ति निकाले । अनि फेरिदिए शब्द ‘वनको राजा कुसुन्डालाई ‘हजुर’ भन्नुपर्‍यो’ भन्ने शब्दलाई फेरिदिए र बनाइदिए ‘मै हुँ भन्ने सान्नानीलाई ‘हजुर’ भन्नुपर्‍यो’ अनि लोकगीत पास भयो र प्रतियोगितमा गाउन सफल भए ।
‘पाखेले गाउने गीत पनि राम्रा’
लोकगीत गाउनेलाई पाखे भन्ने चलन अहिले पनि छ, २०१९ सालतिर नहुने कुरै भएन। तर, त्यही पाखे गीत गाउने रामेश र रायनको स्वर मनपराइदिए रेडियो नेपालका संगीतकार नातिकाजी र शिवशंकरले । ‘तिमीहरू गाउँ जाँदै छौ, तर गाउनचाहिँ नछोड है’ हिँड्ने वेला रामेश–रायनलाई सम्झाए नातिकाजीले । त्यही उत्साहबाट फुरुक्क परेका रामेश–रायन हलेसी, बुइपा, सोलुतिर लागे लोकगीत संकलन गर्न क्यासेट बोकेर । ‘नातिकाजीले गीत गाउन नछोड भनेपछि त्यही वाक्यबाट उत्साहित भएका हामी घर फर्किनेबित्तिकै क्यासेट बोकेर गाउँगाउँ डुल्न थाल्यौँ लोकगीत संकलन गर्न,’ रामेश भन्छन् । यो जोडीले दर्जनौँ गीत संकलन गर्‍यो त्यतिवेला । दुवैलाई साथ दिए रामेशका दाइले । रामेशका दाइ अहिले खोटाङको, तर त्यतिवेला ओखलढुंगामा पर्ने बुइपाको हाई स्कुलमा हेडमास्टर थिए ।
रेडियो नेपाल प्रवेश
२०१६ सालदेखि सुरु भएको यो जोडीको सहकार्य टुटेको थिएन । गाउँमा संकलन गरेका लोकगीत बोकेर काठमाडौं आए रेडियो नेपालमा गाउन । कुरा २०२१ सालतिरको हो । रेडियो नेपालमा त्यतिवेला धर्मराज थापा दुईवटा कार्यक्रम चलाउँथे ‘लोकलहरी’ र ‘हिमाली संगम’ । ती कार्यक्रमबाट प्रभावित थियो यो जोडी । रेडियो नेपाल प्रवेश गरेका रामेश र रायनले नातिकाजीहरूको सहयोगमा लोकगीत गाउन थाले । ‘नातिकाजीले पियानो बजाएर सहयोग गर्नुभयो,’ रामेशले सम्झिए । त्यतिवेला रेडियो नेपालमा लोकगीत गाउँदा १० रुपैयाँ पाइन्थ्यो । त्यही कमाइबाट जीविका धान्थे रामेश र रायन ।
कहिले सँगै कहिले छुट्टै
रामेश र रायनको जोडी जमिरहेको थियो काठमाडौंमा पनि । रेडियो नेपालमा लोकगीत गाउन आएको यो जोडी २०२१ सालतिर टेबहालमा बस्थ्यो । कोठा भाडा मासिक १७ रुपैयाँ थियो । ०२२ सालतिर यी दुई छुट्टिए समझदारीमै । त्यसपछि रामेश र उनका भाइ अर्कै ठाउँमा बस्न थाले, रायन भने त्यही कोठामा । पछि फेरि ०२३ सालतिर सँगै बस्न थाले क्षेत्रपाटीमा । ‘खर्चबर्चले धान्न धौधौ हुने भएकाले कहिले को साथीसँग मिलेर बस्ने कहिले कता बस्ने गथ्र्यौं’ रायनले सम्झिए । यो जोडी २०३० सालसम्म यसरी नै बस्यो ।

rameshhhरेडियोका कर्मचारीले खाइदिए पारिश्रमिक
रेडियो नेपालमा महिनामा तीनवटा गीत रेकर्ड गर्न पाइन्थ्यो एकजनाले । तर, तीन वर्षपछि रेडियो नेपालसँग यो जोडीको खटपट सुरु भयो । ‘गीतको पैसा दिने वेला समस्या हुन्थ्यो, कहिले टिप्पणी हरायो भन्थे, कहिले टिप्पणी उठाउनै बिर्सेछ भन्थे अनि पैसा दिन आनाकानी गर्थे,’ रामेशले भने । हुन त धेरै गीतको पैसा लिएका थिए उनीहरूले । गाउँबाट आएकाले घर खर्च चलाउन समस्या भएकाको रुटिङ नै बिग्रिन्थ्यो अनि जंगिन्थे । अलिक विद्रोही पाराका पनि थिए उनीहरू । ‘खासमा कर्मचारीले कीर्ते गरेर पैसा खाइदिँदारहेछन्, यस्तो ग्याङ नै रहेछ रेडियो नेपालमा,’ रामेशले भने । दुवै मिलेर मुद्दा लडे कीर्ते गर्ने कर्मचारीविरुद्ध र साथ दिए विशेष प्रहरीका अफिसर मकरबहादुर राउतले । जानपहिचानकै थिए राउत । मुद्दापछि रामेश र रायनको रेडियो नेपालसँगको सम्बन्ध टुंगियो ।
अनि भेटिइन् पारिजात
रेडियो नेपालबाट बाहिरिएपछि साहित्यकार पारिजातकहाँ पुगे रामेश र रायन । पारिजातले नै पहिले खोजेकी हुन् यो जोडीलाई । रेडियोमा बज्ने लोकगीतबाट पारिजात फ्यान नै बनकी रहिछन् । ज्ञान उदासमार्फत भेटका लागि खबर पठाएकी रहिछन् रामेश र रायनलाई । ‘पहिला–पहिला त विश्वास नै लागेन, मदन पुस्कार पाएको साहित्यकारले हामीलाई भेट्न बोलाएको भनेर, पछि पटक–पटक खबर आएपछि हामी गयौँ,’ रामेशले भने।
पारिजातसँग राल्फा समूह
पारिजातसँग मिलेर रामेश र रायनले राल्फा समूह गठन गरे । त्यसभन्दा अघि पारिजातले यो जोडीलाई काठमाडौंमा बस्न सहयोग गर्ने बचन दिइन् । ‘पारिजातको साथ र सहयोगले नै काठमाडौं बसियो रेडियो नेपाल छोडेपछि,’ अहिले पनि रामेश सम्झिन्छन् । राल्फा समूहमा जोडिएपछि निरन्तर सात वर्षजति सँगै गाएर हिँडे रामेश र रायन । रेडियो नेपाल र नाचघरमा प्रतिबन्धित भएपछि रामेश र रायनहरू डबली र जात्राहरूमा बढी गाउँथे । ‘त्यतिवेला महेन्द्र पुलिस क्लब भर्खर बनेको थियो, प्रज्ञा भवन थिएन, त्यसैले डबलीतिर गाइन्थ्यो,’ रायनले सम्झिए ।
अनि छुट्टिए रामेश र रायन
दुवै राल्फा समूहमा थिए । नातासम्बन्ध पनि थियो दुईबीचमा । तर, रामेश र रायनको बोलचाल नै बन्द हुने गरी शत्रुता पनि बन्यो । यो २०३१ सालतिरको कुरा हो । हुन त २०२८ सालतिरै दुईबीच फाटो आइसकेको थियो । तर, दुईजनाको व्यक्तिगत कारणले भने होइन, बोलचाल बन्द भएको । खाली राजनीतिक कारण थियो बोलचाल बन्द हुनुमा । हुन पनि यी दुई नेता दुई ध्रुवमा बाँडिए । रामेश कोर्डिनेसन केन्द्रतिर लागे अनि रायन चौमतिर ।
२०३१ सालबाट दुई राजनीतिक धारमा लागेका रामेश र रायनको यो बीचमा भेट पनि भएन । झापा आन्दोलन चर्किएका वेला रामेश पूर्वतिर लागे मञ्जुलहरूको टिममा । रायन यतै रहे निर्मल लामा र मोहनविक्रम सिंहहरूसँग । यो क्रम झन्डै १६ वर्ष रह्यो । २०१६ सालदेखि नङमासुको सम्बन्ध रहेको जोडी ३० वर्षे पञ्चायतकालमा १६ वर्ष एक प्रकारको शत्रुतापूर्ण सम्बन्धमा रहे । ‘तर, हामीले व्यक्तिगत कारणले बोलचाल बन्द गरेका थिएनौँ, पार्टीहरूले यस्तो बनाइदिएका थिए, दुवैले जनवादी सत्ताका लागि गीत गाएर जनतालाई जागरूक बनाउने काम भने भइरह्यो,’ रामेशले भने । रायन पनि यस्तै भन्छन्, ‘जनताको पक्षमा गीत गाइरह्यौँ, जो जता भए पनि आखिर उद्देश्य त एउटै थियो नि †’ वास्तवमा यो जोडीबीच अस्वस्थ प्रतिस्पर्धा नै भयो यो समयमा । ‘जेहोस्, शत्रुतापूर्ण व्यवहारबाट भए पनि जनता भने लाभान्वित भइरहे,’ रामेशको तर्क छ ।
रामेशको गीत प्रतिबन्ध
रायन चौमको राजनीतिमा सक्रिय भएर लागिरहे । त्यहीवेला रामेशको ‘गाउँगाउँबाट उठ’ गीत चर्चित थियो पूर्वतिर । श्याम तमोटले गीत लेखे, रामेशले गाए । पछि रायनको पार्टीले यो गीतलाई संशोधनवादी भन्दियो र पार्टीभित्र प्रतिबन्ध लगायो । यहीवेला दुईवटा पत्रिका निस्कन्थे संकल्प र वेदना भन्ने । चौम अर्थात् मसालले वेदना निकाल्थ्यो भने संकल्प कोअर्डिनेसन केन्द्र अर्थात् मालेले । संकल्पमा रचना प्रकाशित गर्ने साहित्यकारले वेदनामा ठाउँ पाउँदैनथे । वेदनामा रचना प्रकाशित गरेका साहित्यकारले संकल्पमा ठाउँ पाउँदैनथे । ‘अर्थात् पार्टीका कारण कुकुर–बिरालोको जस्तो सम्बन्ध भयो,’ रामेशले त्यतिवेलाको सन्दर्भ सम्झिए । अनि रायनका गीत रामेशको माले पार्टीले बहिष्कार गर्दथ्यो । एकले अर्कोलाई संशोधनवादी भन्थे । यो क्रम २०४६ सालसम्मै रह्यो ।
जतिवेला रामेश कारबाहीमा परे
२०३९ सालतिर रामेश मालेको कारबाहीमा परे । पार्टी निकै ठूलो भयो अनि जनवादी केन्द्रीयता भन्ने केही रहेन । ‘उपल्लो तहका नेताले नोकरजस्तो ठान्न थाले, अर्थात् पार्टीभित्र नोकरशाहीतन्त्र हावी भयो,’ रामेशले भने । त्यहीवेला विद्रोह गरे पार्टीभित्र नोकरशाही प्रवृत्तिविरुद्ध । अनि टंक कार्की, रघु पन्त, रामेश, मञ्जुल कारबाहीमा परे । पछि पार्टीले बोलायो सबैलाई, तर रामेश गएनन् । त्यति नै वेला मसालभित्र पनि रायन संघर्ष गरिरहेका थिए गलत प्रवृत्तिका विरुद्ध । तर, उनी कारबाहीमा परिसकेका थिएनन् र पार्टी पनि छोडिसकेका थिएनन् । ‘२०३९ सालपछि म स्वतन्त्र भएर काम गर्न थालेँ,’ रामेशले भने ।
प्रहरीले बोलचाल गराइदियो
पार्टीबाट कारबाहीमा परेका रामेश स्वतन्त्र भएर गीत गाइरहेका थिए । २०४६ सालको आन्दोलनमा पनि स्वतन्त्र रूपमै आन्दोलनका गीत गाए । ३ चैत २०४६ को सन्दर्भ हो, जसले रामेश र रायनलाई बोलचाल र पुनर्मिलन गराउन सहयोगी भयो । जनआन्दोलन चर्किंदै थियो । लेखक–साहित्यकार कालो पट्टी बाँधेर सडकमा निस्किए। प्रज्ञा भवनमा लेखक–साहित्यकार जम्मा हुने तय थियो । त्यहाँ नसकेपछि त्रिचन्द्र कलेजमा जम्मा भए । अनि लाठीचार्ज गरेर प्रहरीले सबै लेखक–साहित्यकारलाई बग्गीखाना लग्यो । ‘बग्गीखानामा पनि कविता वाचन गर्ने, गीत लेख्ने गाउन गरिन्थ्यो, त्यो सबै फोटो खिच्ने, भिडियो रेकर्ड गर्ने काम प्रहरीले नै गथ्र्यो,’ रामेशले भने ।
बग्गीखानामै ४० वर्ष उमेर नाघेकालाई बयानका लागि बोलाउन थाल्यो प्रहरीले । बयान लिने क्रममा रायन र रामेशको भेट भयो । हुन त उनीहरूबीच त्रिचन्द्रमा देखादेख भएको हो, तर बोलचाल भएको थिएन । ‘बग्गीखानामा पुगेका वेला हामी जुन मोर्चामा रहे पनि एकै उद्देश्यमा छौँ, अब सम्बन्ध सुधार गर्नुपर्छ भनेर मैले रायनसँग हात मिलाएँ,’ रामेशले भने । अनि दुवैले हात मिलाए र अँगालो हाले र बोलचाल सुरु गरे १६ वर्षपछि । अनि निरन्तर सँगै रहे रामेश र रायन । दुवैले सँगसँगै गीत गाइरहे आन्दोलनका ।
२०४६ सालपछि निरन्तर
२०४८ सालमा पहिलोपटक पारिजात स्मृति प्रतिष्ठानको कार्यक्रममा रामेश र रायनले फेरि सँगै गाएर सुरु गरे सहयात्रा । दुईको सम्बन्ध बिग्रिएकोमा पारिजात दु:खित थिइन् । तर, दुईको मिलन हुँदा पारिजातको निधन भइसकेको थियो । कार्यक्रम चलाइरहेका हरिगोविन्द लुइँटेलले भनिदिए, ‘पारिजात दिदी तपाई कहाँ हुनुहुन्छ ? आज रामेश र रायन सँगै गीत गाउँदै छन्,’ अनि माहोल नै भावविह्वल बन्यो भन्छन् रामेश । त्यसपछि निरन्तर सहकार्यमा रहेका रामेश र रायन २०६२/६३ सालको आन्दोलनमा पनि सँगै निस्किए सडकमा । र, अहिले पनि निरन्तर सम्बन्धमा छन् उनीहरू । ‘सार्थक जनसंगीत प्रतिष्ठान’ मा आबद्ध छन् दुवै । उनीहरूले गत भदौमा लिपुलेकसम्बन्धी ‘लिम्पियाधुरा’ गीत सँगसँगै गाएका छन् ।

नयाँ पत्रिका दैनिकबाट