जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको यात्रा गर्ने आफ्नो धेरै पुरानो इच्छा पूरा भएको भन्दै खुसी व्यक्त गरेका छन्। भारतको पटनावाट सिंधै विशेष विमानवाट जनकपुर आइपुगेका मोदीले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै उक्त कुरा व्यक्त गरेको हो।

भारतीय र नेपालीहरुमाझ विशेष महत्व राख्ने जनकपुर तीर्थस्थलको यात्रा आफ्नो लागि एक अविष्मरणीय अनुभव भएको मोदीले उल्लेख गरेका छन् । नेपालको दुईदिने राजकीय भ्रमणकाक्रममा शुक्रबार जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा–आराधनापछि त्यहाँ रहेको आगन्तुक पुस्तिकामा मोदीले यस्तो लेखेका हुन्।

पुस्तिकामा उनले जनकपुरमा आफूलाई भव्य स्वागत गरिएकामा नेपाल सरकार र जनकपुरबासीप्रति आफू आभारी रहेको उल्लेख गरेका छन् । उनले आगन्तुक पुस्तिकामा सम्पूर्ण नेपालीहरुमा शान्ति, प्रगति र समृद्धिका लागि भारतीयहरुका तर्फबाट शुभकामना पनि व्यक्त गरेका छन्।

जनकपुरको जानकी मन्दिरमा विशेष पूजाआजा गरेपछि जनकपुर–अयोध्या बस सेवाको पनि शुभारम्भ गर्ने कार्य मोदीवाट भएको छ। समकक्षी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको रोहवरमा जनकपुर उपमहानगरपालिकाले मोदीको नगर अभिनन्दन समेत गरेको थियो।
प्रकाशन मिति–२०७५ साल बैशाख २८ गते शुक्रबार ।