–बिक्रम भक्त जोशी
एकपटक फेरि स्मरण गर्न पुगेँ – मैले प्रथमपटक नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण, जब रोहित कार्कीज्यूले आफ्नो मोबाइलबाट खिँचिएका डेढ वर्षअघिका यी फोटा मलाई फर्वार्ड गर्नुभयो, केही दिनअघि ।
रोहित कार्की, होलिडे ट्रिप नेपालका संस्थापक हुनुहुन्छ । उहाँकै कम्पनीका मार्फत् उहाँकै साथ मैले गरेको थिएँ लुक्ला र कालापत्थरको यात्रा । मिति २०७९ मंसिर १८ र १९ मा ।
लुक्ला पुग्न काठमाण्डौबाट आधा घण्टाको फ्लाइट समय लाग्ने रहेछ । समिट एयरको सानो डोर्नियर विमानबाट । निक्कै छोटो रनवे भएकोले ठूला विमान अवतरण गर्ने गुञ्जाइश रहन्न । तत्पश्चात् लगत्तै फिशटेल एयरको हेलिकप्टरबाट कालापत्थर पुगियो । एक घण्टा समय, आतेजाते ।
लुक्लाबाट हेलिको रुट भनेको दूधकोशीको तिरैतिर उत्तर लागेर इम्जा खोलालाई पछ्याउँदै नाम्चे बजार, होटेल एभरेस्ट भ्यूलाई बायाँतिर पारेर फेरिचे गाउँको बाटो । त्यहाँबाट चोला ताललाई देब्रेतिर पारेर अघि बढेपछि खुम्बु ग्लेसियर पुगिन्छ र त्यसको माथिमाथि पाँचै मिनेट उडेपछि कालापत्थर पुगिन्छ ।
कालापत्थर भन्ने ठाउँ पुमोरी हिमालको फेदमा रहेको कालो वर्णको सुख्खा पहाड हो, जसको फेदमा गोरकशेप गाउँ छ । ठिक पूर्वतिर तल खोँचमा एभरेस्ट बेस क्याम्प रहेको छ, जुन हामीलाई हेलिले उतारेको ठाउँबाट देखिन्न, उड्दा मात्र देख्न सकिन्छ । एभरेस्ट बेस क्याम्पबाट पूर्वतिर सगरमाथाको चोसो देखिन्छ र त्यसको दाहिनेपट्टी नुप्त्से हिमाल देख्न सकिन्छ । यहाँबाट ल्होत्से हिमाल देखिन्न, नुप्त्सेले ठ्याक्कै छेकिन्छ।
ठाउँको वर्णन म के गरुँ ! धर्तीमा खसेको स्वर्गको टुक्रा । भावबिभोर भइन्छ । मौसम पनि खुलेको थियो । छर्लङ्गै देखियो सगरमाथा !!
यहाँ पुग्ने र सगरमाथा हेर्ने मेरो सपना पूरा भएको खुसियाली त छँदैछ, विश्वकै अग्लो हिमालको काखमा मेरो पुस्तक ‘चोभार ब्लुज’को सांकेतिक लोकार्पण गर्ने अवसर पनि मिल्यो, त्यो अर्को खुसियालीको कुरा रह्यो ।