काठमाडौं। नेपालको राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चीनफिङले दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेतासँग आग्रह गरेका छन्।
चीनिया कम्युनिष्ट पार्टीका महासचिवका हैसियतले राष्ट्रपति सीले सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहित सचिवालयका सदस्यसँगको भेटवार्तामा चीनमा आफूहरुले जनता र राष्ट्रलाई सही बाटामा डोर्याएका कारण जनताको अपार समर्थन पाएको र उक्त सद्भाव जनताको सत्ताका रुपमा स्थापित र लोकप्रिय भएको उल्लेख गरेका छन्।
चीनिया कम्युनिष्ट पार्टीले सन् १९४९ मा शक्ति आर्जन गरेका कारणले त्यसैको आधारमा मात्रै आफूहरु हिँडिरहेको भन्ने नभएको बताउँदै राष्ट्रपति सीले थपे, ‘शक्ति प्राप्त गरेका कारणले मात्रै होइन। कम्युनिष्ट पार्टीले आफूभित्रको अनुशासनलाई विशेष जोड दिनुपर्छ । त्यसलाई केन्द्रमा राखेर समाजवाद निर्माण गर्नुपर्छ । चीन र नेपालको बीचमा सकारात्मक पाटो मात्र छैन । चुनौतीका पहाड पनि छन् भन्ने बुझ्दै अगाडि बढ्नुपर्छ, जुन कुरा मैले हिजोको सम्बोधनमा समेत इङ्गित गरेकोे छु।’
भेटका अवसरमा नेकपाका अध्यक्ष दाहालले चीन र चिनियाँ कम्युनिष्ट पार्टीसँगको मित्रतालाई नेकपाले धेरै महत्व दिएको र एक चीन नीतिप्रति शब्दमा मात्र नभई व्यवहारमा समेत प्रतिबद्ध रहेको बताए।अध्यक्ष दाहालले भने, ‘चीनको विकासबाट हामी पनि लाभान्वित हुन चाहन्छौँ। नेपाल र नेपाली जनताले त्यसबाट लाभ लिन सक्छन् भन्ने हाम्रो विश्वास छ । तपाईँको नेतृत्वमा चीनले अझै बढी विकास गरी सबल समाजवाद निर्माण गरोस् भन्ने हाम्रो पनि अपेक्षा छ।’
राष्ट्रपति सी रहेको होटेलमा भएको भेटवार्तामा नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेता वामदेव गौतम, प्रवक्ता श्रेष्ठ र महासचिव विष्णुप्रसाद पौडेल एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी थिए।
प्रकाशन मिति–२०७६ साल असोज २६ गते आइतवार ।