cold-climate-3काठमाडौ। इस्वी संवतअनुसारको अंग्रेजी नयाँ बर्ष २०१७ को अघिल्लो दिन अर्थात न्यू इअर इभको दिन पुस १६ गतेवाट यो बर्षको चिसो निक्कै बढ्यो। पुस १८ गतेसम्म आइपुग्दा काठमाडौको तापक्रम तल झरेर ३ डिग्रीसम्म पुग्यो। काठमाडौ नजिकका गोदावरी, सिमभन्ज्याङ्ग लगायत नेपालका हिमाली जिल्लाहरुमा हिमपात नै भयो। जुन कतिपय स्थानमा अझै जारी रहेको छ। तराईमा शीतलहरको अर्को पीडा रहेको छ। चिसोले नेपालको जन–जीवन अत्यन्त प्रभावित बनेको छ।

अत्यधिक चिसोसँगै स्ट्रोक तथा उच्च रक्तचापका बिरामी बढेको तथ्यांक सार्वजनिक भइरहेको छ । विभिन्न अस्पतालमा उच्च रक्तचाप र स्ट्रोकका बिरामीको चाप बढेको समाचार बाहिर आइरहेका छन् । यसले विशेष गरी बूढापाका, दीर्घरोगी र बालबालिकालाई प्रभाव पारेको देखिन्छ।

cold-climate-2हिमाली, पहाडी र तराई क्षेत्रमा बसोवास गर्नेहरूलाई यसै पनि ठन्डीयामले सताउने गरेको छ । अघिल्ला वर्षमा पहाडी क्षेत्रमा चिसोको प्रभाव कम पर्ने गरेको भए पनि गत बर्ष १२ वैशाख २०७२ मा गएको विनाशकारी भूकम्पपछि ठन्डीमा पीडा खेप्नेहरू पहाडी क्षेत्रमा पनि बढेका छन् । भूकम्पका कारण धेरैको घर भत्किएको छ र नयाँ घर निर्माण भइसकेको अवस्था छैन।

अस्थायी टहराहरूले चिसो थेग्न सक्ने अवस्था नभएको, धेरैले घरमै भएका पुराना जस्ता र काठपातको भरमा अस्थायी टहरा बनाएका र ती टहरा पनि त्यति भरपर्दा नभएका कारण उनीहरूलाई निकै समस्या भएको पाइन्छ । उता, तराईमा निम्न आय भएका र विपन्न परिवारमा बाक्ला लुगा र ओड्ने–ओछ्याउने कपडा छैनन् भने त्यहाँको परम्परा पनि घुर तापेर रात कटाउने रहेको छ । यसले एकातिर चिसोको जोखिम घटाउन सक्दैन भने अर्कातिर आगलागी र आगोजन्य दूर्घटनाको सम्भावना बढाउँछ।

cold-climate-1

भूकम्प गएलगत्तै घर निर्माणका लागि सरकारले सहयोग गर्ने आश्वासन दिएका कारण कतिपय घर बनाउने सक्नेहरूले पनि घर बनाएनन् । अस्थायी टहरामा बसोवास गर्ने बालबालिका र वृद्धमा चिसोको प्रभाव बढ्न थालिसकेको छ । अहिले पनि कतिपय त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनि बस्नेहरूको स्थिति झनै बेहाल छ।

चिसोयाममा रुघा, खोकी र ज्वरोले सताउने भएकाले बेलैमा सजग रहन जरुरी हुन्छ । सबैभन्दा पहिला टहरोमा बसोवास गर्नेहरूलाई सुरक्षित बनाउनेतर्फ सरकारले तत्कालै ध्यान दिनुपर्छ । अहिले पनि भूकम्प प्रभावित क्षेत्रमा काम गर्ने थुप्रै संघसंस्था छन् । तिनीहरूले तत्कालै भूकम्प प्रभावितलाई चिसोबाट जोगाउने उपाय खोज्नुपर्छ । पहाडी क्षेत्रमा कतिपय नागरि कलाई केही थान न्यानो कपडा उपलब्ध गराएर जोगाउन सकिन्छ भने कतिपयलाई टहरा नै बनाइदिनुपर्ने पनि हुन सक्छ ।

विधि पु¥याएर बनाउने हो भने टहरो पनि न्यानो खालको बनाउन सकिन्छ । महत्वपूर्ण कुरा चिसो बढिसकेको अवस्था छ, अब सरकार, सरकारी संयन्त्र, स्थानीय संघसंस्था तथा व्यक्ति स्वयंले चिसोबाट बच्ने उपाय खोज्नु र त्यसलाई अपनाइहाल्नु आवश्यक छ । नेपाली जनताको नाममा राजनीति गर्ने नेताहरु चिसोमा व्यवस्थापिका संसद अवरुद्ध गर्ने तथा खोल्ने खिचातानीको न्यानो ताप्न व्यस्त बनेका नेताहरु कमसे कम चिसोवाट नेपाली जनतालाई कसरी बचाउने भन्नेतिर सोच्ने पो हो कि ? यसतर्फ ध्यान पु¥याउन अत्यन्त आवश्यक भैसकेको छ। चिसोमा न्यानोको आवश्यकता रहेको छ।
प्रकाशन मिति–२०७३ साल पुस २५ गते सोमवार ।