काठमाडौ। अपाङ्ग तथा अपाङ्गता सवालका विषयमा जतिसुकै चर्का नारा तथा भाषण गरेतापनि अपाङ्गता भएका घर–परिवारहरुमा यसप्रति जागरण र जागरुपता आउन सकेको पाइदैन। अपाङ्गता भएका घरका व्यक्तिहरुलाई घरमा नै सिमित गर्ने नेपाली परम्पराका कारण अपाङ्गताका सवालमा राज्य तथा सरकारले जतिसुकै बजेट विनियोजन गरेतापनि त्यसको सही प्रयोग हुन नसकेको र उनीहरुसम्म पुग्न नसकेको सरोकारवालाहरुको भनाई रहेको छ।
गोकर्ण पार्टीचौरस्थित गोकर्ण माध्यमिक विद्यालयको सभाकक्षमा आयोजित अपाङ्ग क्षमता अभिबृद्धि कार्यक्रममा सरोकारवालाहरुको त्यसप्रकारका भनाई संप्रेषित भएको लगतै अपाङ्गहरुको हक, हित र अधिकारका लागि गोकर्णेश्वर नगरपालिकाले विशेष पहल गर्ने प्रतिवद्धता नवनिर्वाचित मेयर संतोष चालिसेले व्यक्त गरेका छन्।
मेयर चालिसेले गोकर्णेश्वर नगरपालिकालाई अपाङ्ग मैत्रीको सुन्दर नगर बनाउने योजना अनुरुप आफू क्रियाशील भएको र यसमा सवैको सहयोग आवश्यक भएको बताए। कार्यक्रममा गोकर्ण–४ स्थित स्वस्थ समाज नेपालकी अध्यक्ष सीता श्रेष्ठले अपाङ्ग तथा बौद्धिक अपाङ्गहरुको समस्या र उनीहरुको आवश्यकताका बारेमा प्रकाश पारेकी थिइन्।
उपमेयर शान्ति नेपालले अपाङ्गता भन्ने कुरा कतिखेर र कहिले हुन्छ भन्ने कुरा भन्नै नसक्ने भएकोले यसतर्फ सचेत हुन सवैलाई आव्हान गरेकी छन्। कार्यक्रममा नेपाली कांग्रेस गोकर्ण वडा नंबर ४ प्रतिनिधि बालकृष्ण श्रेष्ठ लगायतका वक्ताहरुले अपाङ्गहरुको समस्या र समाधानका विषयमा वोलेका थिए।
अपाङ्ग क्षमता अभिबृद्धि कार्यक्रमको लगतै गोकर्ण ४ स्थित स्वस्थ समाज नेपालमा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको बस्तुस्थितिका बारेमा बुझ्न मेयर संतोष चालिसे, उपमेयर शान्ति नेपाल लगायत स्वस्थ समाज नेपालमा पुगेका थिए।
प्रकाशन मिति–२०७४ साल जेष्ठ २२ गते सोमवार ।