काठमाडौ। नेपालका चर्चित गायक तथा समाजसेवी सीताराम पोखरेलले फरक ढंग तथा सोचवाट जन्मदिन मनाएका छन्। हरेक बर्ष अंग्रेजी तारिख अनुसार जन्मदिन मनाउंदै आएका गायक पोखरेलले अक्टोबर ४ तारिखका दिन बुधवार कुनै तामझाम नगरिकन बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका साथमा जन्म दिन मनाएका हुन्।
काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ भैरबचौरस्थित स्वस्थ समाज नेपालमा गएर त्यहाँ आवद्ध बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई बर्थ डे केक खुवाउनुको अलावा उनीहरुलाई ६ महिनासम्म पुग्ने खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गर्ने कार्य गायक पोखरेलवाट भएको छ।
स्वस्थ समाज नेपालकी संस्थापक अध्यक्ष सीता श्रेष्ठलाई गायक पोखरेलले दाल, चामल, नून, तेल, चाउचाउ तथा विस्कुट लगायतका खाद्य सामाग्री हस्तान्तरण गरेका हुन्। त्यसअघि स्वस्थ समाज नेपालमा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई साक्षी राखेर बर्थ डे केक काटेर उनीहरुलाई खुवाएपछि मात्र आफू र आफ्ना साथमा आएकी पत्नी रमा पोखरेल, दुई छोराहरु शिविर पोखरेल तथा सिजन पोखरेललाई खुवाउने कार्य गायक पोखरेलले गरेका थिए।
यसप्रकारको फरक शैलीको जन्मदिन मनाउने कार्य विगत चौध बर्षदेखि गर्दैआएको र यो बर्ष भिजन संसार डटकममा पत्रकार श्याम स्मृतले लेखेको स्वस्थ समाज नेपालको समाचार पढेर नै त्यसवाट प्रभावित बनेको गायक पोखरेलले बताएका छन्।
सोही समाचारवाट प्रभावित बनेर आफू स्वस्थ समाज नेपालमा आएर जन्मदिन मनाउन आएको र स्वस्थ समाज नेपालमा आवद्ध बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई केही भएपनि सहयोग गर्न पाउंदा अत्यन्त खुशी तथा संतुष्टि लागेको जिकिर गायक पोखरेलको रहेको छ।
कार्यक्रममा पहिलो पल्ट यसरी सार्वजनिक समारोह वीच श्रीमानको जन्मदिन बौद्धिक अपाङ्गता भएका बालबालिकासाथमा मनाउन पाउंदा साह्रै गर्ब लागेको प्रतिक्रिया गायक पोखरेलकी जीवन संगीनी रमा पोखरेलले दिएकी छन्। साथमा दुई छोराहरु शिविर पोखरेल तथा सिजन पोखरेलले पनि पिताले जस्तै यसप्रकारको सामाजिक कार्य गर्दैजाने प्रतिवद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा स्वस्थ समाज नेपालकी संस्थापक अध्यक्ष सीता श्रेष्ठले संस्थाको कुनै आयश्रोत नभएको र सीताराम पोखरेल जस्ता सहयोगी हातहरुको सहयोग तथा दानदातव्यवाट संस्था चलेको बताउंदै गायक पोखरेलको सुस्वास्थ्य, दीर्घ जीवनका लागि सवै बालबालिकाका तर्फवाट शुभकामना तथा शुभेच्छा व्यक्त गरेकी थिइन्।
साथमा स्वस्थ समाज नेपालकी सचिव अम्बिका भण्डारीले उपस्थित सवैलाई स्वागत गर्दै यसप्रकारको सहयोगले बौद्धिक अपाङ्गता भएका बालबालिका संरक्षण तथा संवद्र्धन गर्नमा अत्यन्त सहयोग मिलेको भनेकी छन्। कार्यक्रममा गायक पोखरेलले दुई चर्चित गीत गाएर बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई मनोरन्जन प्रदान गर्ने कार्य भएको थियो।
प्रकाशन मिति–२०७४ साल असोज १८ गते बुधवार।