काठमाडौं। माया अनि प्रेम त्यो कुरा हो। जुन कुरा अकबरी सुनजस्तै हुन्छ। मायामा संसार भुल्नेहरुको माझ कोरोनाको क्वारेन्टाइन पनि प्रेमिल स्वर्ग नै बनेको दाङको खवर छ।

मायाको संसारमा भुल्ने प्रेमिल जोडीले दाङको क्वारेन्टाइनमा नै विवाह गरेर प्रेमको परिभाषामा नयाँ परिभाषा थपिदिएका छन्। त्यसरी प्रेमको परिभाषामा इतिहास रच्ने जोडी घोराही उपमहानगरपालिका–१८ का २३ वर्षीय कृष्ण ओली र तुलसीपुर उपमहागरपालिका–७ की २१ वर्षीया सीता चौधरी हुन।

पूर्वेली न्यूजका अनुसार, यो जोडीले दाङको क्वारेन्टाइनस्थलमै विवाह गरेका छन् । १४ दिन क्वारेन्टाइनमा बसेका उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुले क्वारेन्टाइनस्थलको छेउमै रहेको बरपिपलको चौतारीमुनि बिहे गरेका हुन्। घोराही वडा नंवर १८ का वडाध्यक्ष भरत अर्यालले पुरोहितको रुपमा मन्त्रोच्चारण गरेर उनीहरुको आइतवार विवाह गराइदिएका हुन।

उनीहरुको प्रेम थियो तर परिवारले नमानेका कारण विवाह हुन सकेको थिएन। अहिले परिवार पनि सहमत भएपछि उनहिरुको विवाहले पूर्णता पाएको हो। प्रेमी कृष्ण ओलीका अनुसार २ वर्षअघि उनीहरुको फेसबुकमार्फत चिनजान भएको थियो। मित्रता विस्तारै प्रेममा परिणत भएको थियो।

नयाँदिल्लीको एक होटलमा सेफको काम गर्ने कृष्ण ओलीले ९ महिनाअघि नेपाल आएर सीता चौधरीलाई साथमै लिएर गएका थिए। जेठ १० गते नेपाल फर्केका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो। उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुले त्यही दिन विवाह गरे।

उनीहरुको विवाह हतारहतार गर्नुको कारण परिवारको धार्मिक मान्यता हो। जेठमा उनीहरु भागेर गएको ९ महिना भएको थियो। असारमा उनीहरु भागेको १० महिना हुने र दशौं महिनामा शुभकार्य गर्न नहुने मान्यता परिवारले राखेपछि हतारहतार जेठ महिनाकै अन्तिम दिन ३२ गते उनीहरुको विवाह गरिएको हो।
प्रकाशन मिति–२०७७ साल असार २ गते मंगलवार ।