–निशान बुढाथोकी
विश्वब्यापी कोरोना महामारीले, असर नपारेको क्षेत्र शायदै छ । विशेष गरेर, मानव स्वास्थ्यमा गम्भीर घात पु¥याएको कोरोनाले आर्थिक क्षेत्र तहस नहस पारेको छ। कोरोनाले अर्थतन्त्रमा परेको असरबारे अध्ययन गर्न राष्ट्रिय योजना आयोगले गठन गरेको कार्यदलको प्रतिवेदनले नै, मुलुकको कूल गाह्रस्थ उप्पादनमा करीब २ अर्ब रुपैयाँको क्षति पुगेको देखाएको छ ।
यद्यपि, यो प्रतिवेदन सार्वजनिक हुन बाँकी छ । मुलुकभित्र उत्पादन भएका बस्तु र सेवाको बजार मूल्य हो, कुल गाह्रस्थ उत्पादन । अध्ययन अनुसार कोभिड–१९ नभएको भए मुलुकको अर्थतन्त्रको आकार ३९ खर्ब ५ अर्बको हाराहारीमा हुने थियो । तर कोभिड–१९ को असरले ३७ खर्ब ७ अर्बमा, मुलुकको अर्थतन्त्र संकुचित हुन पुगेको भनिँदैछ। मूलुकको अर्थतन्त्रमा अहिले नै यति ठूलो रकम क्षति हुँदा, यसको सिधा असर रोजगारीमा परेको छ ।
महामारी फैलिनुअघि वैदेशिक रोजगारी सहित १ करोड ५९ लाख नेपाली विभिन्न रोजगारीमा आबद्ध थिए । तीमध्ये १५ लाख ७० हजार जनाले रोजगारी गुमाएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये पनि ३ लाख ५६ हजार अनौपचारिक क्षेत्र र १२ लाख भन्दा बढी औपचारिक क्षेत्रका छन्।
अनौपचारिक क्षेत्रमा अधिकांश महिला आबद्ध छन् । औपचारिक क्षेत्रको रोजगारीमा पनि महिलाको संख्या बढ्दो क्रममा छन्। यति ठूलो मात्रमा रोजगारी गुमेपछि, त्यसको सिधा असर महिला रोजगारी परेको स्पष्ट छ। कोरोना महामारी लम्बिदै जाँदा बेरोजगार महिलाको संख्या बढ्दै गएको छ, आम्दानी घटेको छ । तर, कामको बोझ बढ्दै गएको स्पष्ट छ। एकअध्ययन अनुसार, कोरोनाले, कृषिमा १९ अर्बको क्षति पुगेको छ । निजी शैक्षिक संस्थामा काम गर्ने करीब १ लाख २० हजार शिक्षक मारमा छन्। त्यहाँ पनि महिला उपस्थिति बाक्लो छ।
प्रतिवेदनले देखाएको डरलाग्दो पाटो होः “लैंगिक विभेद झनै बढ्नेछ”। यो महामारीले लैंगिक समानता र महिला सशक्तीकरणमा समेत समस्या सिर्जना गरेको प्रतिवेदनले देखाएको छ। यसरको कारण हो, कोरोनाको प्रभावले परिवारका प्रायः सदस्य घरमै बस्ने गर्दा, महिलालाई कामको बोझ बढेको र आर्थिक बोझका कारण मनोसामाजिक दबाब समेत बढेको छ। बढी महिला अनौपचारिक क्षेत्रमा काम गर्ने भएकाले अधिकांशले रोजगारी गुमाएको, प्रतिवेदनले देखाएको छ। साना उद्योग र कृषि उत्पादनले बजार नपाउँदा महिलाहरूको सामाजिक तथा आर्थिक अवस्था कमजोर हुँदै गएको छ प्रतिवेदनले देखाएको छ।
सरकारी प्रतिवेदनले नै यो तस्वीर देखाएपछि, कोरोनाले महिलामाथि पारेको आर्थिक र सामाजिक असर स्पष्ट हुन्छ। अनौपचारिक क्षेत्रमा पुरुष भन्दा धेरै महिलाहरु कार्यरत छन् । अनौपचारिक क्षेत्रमा काम गर्दा, स्वास्थ्य लगायतको बीमा त हुँदैनन नै, बेरोजगार बन्ने दर पनि उत्तिकै हुन्छ । महामारीको बेला, उनीहरुको सहयोगका लागि कुनै प्याकेजको व्यवस्था छैन। होटल, पर्यटन लगायतका क्षेत्रबाट थुप्रै महिला बेरोजगार बनेका छन्। बेरोजगार बन्नुको अर्थ, आम्दनी नहुनु हो । जसको सिधा असर सशक्तिकरणमा पर्छ नै।
अर्को कुरा, विश्कै आँकडमा पनि, पुरुषभन्दा तीन गुणा बढी महिला तलब नआउने काम गर्छन् । बच्चा हेर्ने पढाउने, वृद्धबृद्धको हेरचाहदेखि घरका अरु कामहरुमा उनीहरु बढी संलग्न छन्। महामारीको बेला बिरामी पर्नेदेखि घरबै बसेका बालकालिका हेर्नसम्मको काममा उनीहरु व्यस्त हुनुपरेको छ। परिवारका सदस्य पटक पटक खुवाउनेदेखि, सेवा सत्कारका कामसम्ममा पनि लाग्नुपरेको छ।
कतिपय व्यवसायी महिलाले, घरबाटै पनि काम गर्नुपर्ने अवस्था हुन्छ। यी सबै व्यवस्थापन गर्दा, महिलालाई मानसिक र शारीरिक रुपमा अरु बोझ थपिएको छ। जुन कोरोना महामारीको नकारात्मक असर हो।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल असार १८ गते शुक्रवार ।