काठमाडौं। परम्परागत रुपमा दाउरा बालेर गरिने शवदाहप्रति जनमानसको क्रमिक रुपमा आकर्षण घट्दै गएको छ। परम्परागत रुपमा गरिने यसप्रकारको शवदाहमा धेरै नै मानसिक तनाब समेत हुने भएको कारण अत्याधुनिक विद्युतीय शवदाह गृहप्रति नेपाली जनमानसको आकर्षण बृद्धि हुंदैगएको हो।
पवित्रधाम पशुपति क्षेत्रमा दुईवटा विद्युतीय शवदाह गृह भएतापनि हाल एउटा मात्र शवदाह गृह सञ्चालनमा रहेको छ। केही कारणवाट विग्रेमा विद्युतीय शवदाह गृह थप्प नै हुने गरेको वर्तमान अवस्थामा काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रमा थप तीनवटा विद्युतीय शवदाह गृह राख्ने योजना ल्याएको छ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण गर्न लागेको खुलासा गरेका छन्। मेयर शाक्यले काठमाडौं महानगरपालिकाको करिब १५ करोड अनुदानमा पशुपति क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माण गर्ने अन्तिम चरणमा पुगिसकेको वताएका छन्। मेयर शाक्यका अनुसार, केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण थालनी हुने भएको छ।
काठमाडौं महानगरपालिकाले विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि गरेको पहल अत्यन्त सकारात्मक पहल भएको वताएका छन्। काठमाडौं महानगरपालिका शहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले कोभिड–१९ का कारण सम्झौतामा केही ढिलाइ भएकोे र अब केही दिनभित्रै सम्झौता गरी प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्। थापाका अनुसार,पशुपति विकास कोषसँग पटकपटक छलफल गरी सम्झौताको अन्तिम चरणमा पुगिसकेको छ।
प्रकाशन मिति–२०७७ साल असोज २६ गते सोमवार ।