काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राका अवसरमा आज मंगलवार काठमाडौको वसन्तपुर दरबार क्षेत्रस्थित ‘जीवित देवी कुमारीको दर्शन गरेकी छन्। राष्ट्रपति भण्डारीले कुमारीसँगै गणेश र भैरवको दर्शन गरी भेटी चढाउनुका साथै मुख्य पुजारीबाट प्रसाद पनि ग्रहण गरेकी थिइन्।
वसन्तपुरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले विविध सांस्कृतिक झाँकीको समेत अवलोकन गरेकी थिइन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, सभामुख ओनसरी घर्ती, मन्त्रिगण, संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायत काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी लगायत सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
इन्द्रजात्राका अवसरमा वसन्तपुर क्षेत्रमा रथयात्रा, विभिन्न झाँकी तथा सांस्कृतिक बाजागाजाका साथमा नृत्य प्रस्तुत गरिएको थियो । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना गर्न हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन परम्परागत इन्द्रजात्रा पर्व मनाइन्छ।
फोटो सौजन्य–शैलेश शाक्य लगंबरेजु
यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ।
प्रकाशन मिति–२०७४ साल भाद्र २० गते मंगलवार