काठमाडौ। भाषिक तथा सामाजिक आन्दोलनमा विगत ३० बर्षदेखि क्रियाशील ह्याउँनिभाःपुचः नामक संस्थाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर जनचेतनामूलक कार्यक्रम गरेको छ। विशेषत संघीय गणतन्त्र नेपालको पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कस्ता उम्मेदवारलाई मतदान दिने भन्ने विषयमा नै कार्यक्रम केन्द्रित गरेको थियो।
काठमाडौको कान्तिपथस्थित होटल प्यासिफिकमा आयोजित कार्यक्रममा ह्याउँनिभाःपुचःका तर्फवाट कार्यक्रम संयोजक राकेश मास्केले काठमाडौमा नेवाःस्वायत्त राज्य स्थापना गर्ने,नेवाःप्रदेशको सुनिश्चिततामा ग्यारेन्टी दिने, सडक विस्तार पीडितहरुको मल्हम लगाउन सक्ने, पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेको होइन भन्ने जिकिर गर्न सक्ने र नेवाःहरुको आर्थिक तथा सामाजिक विकास गर्न प्रतिबद्ध उम्मेदवारलाई निर्वाचित गर्नुपर्ने बुंद्धागत तथ्यसहित प्रस्तुत गरेका थिए।
संयोजक मास्केले पृथ्वीनारायण शाहले नेपाली एकिकरण गरेको नभइकन छल–कपट तथा बेइमानीका आधारमा काठमाडौ उपत्यकामा अतिक्रमण गरेको तथ्य प्रकाशमा आइसकेकोले त्यसलाई एकिकरण नभनिकन गोरखा राज्यको विस्तार मात्र भन्न सकिने जिकिर गरेका छन्।
कार्यक्रममा ह्याउँनिभाःपुचःका अर्का क्रियाशील सदस्य अनुपसिंह सुवालले नेवाःवीच आर्थिक क्रान्ति ल्याउने पुचःले मूलभूत उदेश्य राखेको र चांडै नै नेवा चेम्बर अफ कमर्श एण्ड प्रोफेशनल्स गठन गर्ने तयारीमा आफूहरु पुगिसकेको खुलासा गरेका छन्। कार्यक्रममा पुचःका मनरत्न शाक्य तथा यादव प्रसाद रंजितले पनि विविध गतिविधिमाथि प्रकाश पारेका थिए।