काठमाडौं। आज भगवान श्रीकृष्णको कृष्ण जन्माष्टमी। भाद्र कृष्ण अष्टमीका दिन मनाइने यो पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउने कार्य भैरहेको छ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भन्ने गरेको छ।
आजको दिन देशभरीका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै श्रद्धालु भक्तजनहरु व्रत बसी रातभर जाग्राम बस्ने गर्छन्। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवं वसुदेव र देवकीको आठौं गर्भका रुपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको धार्मिक मान्यता र विश्वास रहेको छ।