काठमाडौ। नेपालमा अव सवारी साधनलाई मात्र नभइकन जाथभावी बाटो काट्ने पैदलयात्रीहरु पनि ट्राफिक प्रहरी कारवाहीमा पर्ने भएको छ। जथाभावी बाटो काट्ने पैदलयात्रीलाई नगद २ सयसम्म जरिवाना गर्ने भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
यही जेष्ठ १६ गते मंगलवारदेखि यो नियम लागु हुने महाशाखाले भनेको छ। महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मिङमार लामाले काठमाडौं उपत्यकामा सडक दुर्घटनाबाट बर्सेनि ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्री रहेकाले यसलाई न्यूनीकरण गर्न सडक सुरक्षा अभियान सन्चालन गर्न लागेको बताए। जथाभावी बाटोमा हिँडेकै कारण बर्सेनि ७०–८० जनाले ज्यान गुमाउने गरेका महाशाखाको रेकर्डमा रहेको छ।
महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ लाई टेकेर यो कारबाही गर्न लागेको हो। ऐनको दफा १३७ अनुसार पैदल हिँड्ने यात्रीले बाटो काट्दा जेब्राक्रसिङ र आकाशेपुल नै प्रयोग गर्नुपर्छ। जथाभावी बाटो काट्नेलाई नगद दुईसय देखि एक हजारसम्म जरिवाना गरिने कानुनी व्यवस्थाबमोजिम कारबाही गर्न लागेको हो।
पैदलयात्राकाक्रममा साथमा नगद दुई सय पनि नभएका यात्रीलाई तीन घन्टासम्म नियन्त्रणमा लिइ ट्राफिक नियमसम्बन्धी शिक्षा दिइने महाशाखाले जनाएको छ। महाशाखाले फुटपाथमा जथाभावी पार्किङ गर्ने तथा पसल राख्नेलाईसमेत कारबाही गर्दैआएको छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ १३ गते शनिवार ।