काठमाडौ। अमेरिकाद्वारा सुडानमाथि विगत २० वर्षदेखि लगाउदै आएको आर्थिक नाकावन्दी हटाउने निर्णय गरेको छ। जसको इजिप्टले स्वागत गरेको छ। अन्तरराष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार, शनिबार इजिप्टको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी ट्रम्प प्रशासनद्वारा यसै हप्ताको सुरुमा गरेको उक्त निर्णयको प्रशंसा गरेको छ ।
इजिप्टले सुडानले मानव अधिकार तथा अन्य सम्बन्धित क्षेत्रमा पछिल्ला वर्षमा सुधार गर्दै आएको विज्ञप्तिमा भनिएको छ । वासिङटन लगायत कतिपय मुलुकले सुडानले आतंकवादलाई सघाएको आरोप लगाउदै आएका थिए । यद्यपि यसमा पछिल्ला केही वर्षयता सुडानले आफूलाई लागेको आरोपलाई आलोचनामुक्त गर्ने दिशामा अग्रसर रहेको इजिप्टको दावी छ ।
यसअघि सुडानले आफ्नो देशमाथि अमेरिकाद्वारा २० वर्षदेखि लगाउदै आएको नाकावन्दी हटाउन लागेकोमा इजिप्टले विरोध जनाएको आरोप लगाएको थियो । तर, इजिप्टले भने सो आरोपको खण्डन गर्दै आएको छ ।
सुडान र इजिप्टबीच सीमा विवादका अलावा सुडानले इथियोपियाको सरकारद्वारा नाइल नदीमा बाँध बाँधेर इजिप्टको पानीको महत्वपूर्ण हिस्सामा अवरोध गर्ने कदममा सहयोग गरेको भन्दै असन्तुष्टि रहँदै आएको छ ।
प्रकाशन मिति–२०७४ साल असोज २१ गते शनिवार ।