न्यूयोर्क । अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका रामचन्द्र श्रेष्ठ नगर समिती सदस्यमा नियुक्त बनेका छन्। कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउनको नगर सदस्यमा श्रेष्ठ नियुक्त भएका हुन्।
उक्त नगरपालिकामा एक पद रिक्त भएपछि श्रेष्ठलाई उक्त नगरमा श्रेष्ठले गरेका क्रियाकलाप, गतिबिधि र योगदानको कदर तथा मूल्यांकन गर्दै श्रेष्ठलाई उक्त पदमा ल्याइएको हो। उक्त पद २ बर्षको रहेता पनि १० महिनामा मै एक पद रिक्त हुन आएकाले श्रेष्ठले अब बाँकी १ बर्ष २ महिना (अर्थात् १४ महिना)समय अवधिसम्म काम गर्नुपर्ने छ। श्रेष्ठले आफूलाई नियुक्ति गर्ने सबैलाई धन्यवाद दिँदै नेपाल र नेपालीको नाम सदैव उच्च राख्ने प्रतिबद्धता जनाएका छन्।
नेपालको सिन्धुपाल्चोक चौतारा घर भै हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका श्रेष्ठ सफल व्यवसायी पनि हुन् । सन् १९९६ मा अमेरिका आएका श्रेष्ठ २० बर्षदेखि उक्त शहरमा चमेनागृहको व्यवसायमा संलग्न छन् ।
श्रेष्ठ सन् २०१२ मा कनेक्टिकटमै स्थापित नेपाली समुदायको नेपाली समाज अमेरिका (सोसाइटी अफ नेपालिज इन अमेरिका) का दोश्रो कार्यकालका लागि समेत निर्बिरोध निर्वाचित अध्यक्ष हुन्। उनको उक्त संस्थामा २०१९–२०२१ सम्म कार्यकाल अझ रहने छ। उनले उक्त संस्थामा सन् २०१७–२०१९ सम्म सफलता पूर्वक नेतृत्व प्रदान गरिसकेका छन्।
अमेरिकामा मूलधारको राजनीतिमा नेपाली समुदायको ईतिहासमा सबै भन्दा पहिले नगर पालिकाको निर्वाचनमा उप प्रमुखमा निर्वाचित हुने किरण सिटौला हुन्। उनले मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नामक नगरपालिकाको उपप्रमुखमा खाता खोलेका उनी दोश्रो कार्यकालको लागि समेत निर्वाचित भएका छन् ।
सिटौला्पछि क्रमशः मेरिल्याण्ड राज्यको विधानसभा सदस्यमा एचबि ह्यारी भण्डारी, भर्जिनिया हे मार्केटका लागि नगरपरिषद सदस्यमा मधु पन्थी र भर्जिनिया हर्नडन शहरका लागि नगर परिषद सदस्य प्रदिप ढकाल निर्वाचित भए। अमेरिकाको इतिहासमा श्रेष्ठ यसरी मूलधारमा पुग्ने नेपाली मूलका पाँचौ व्यक्ति हुन् ।
प्रकाशन मिति–२०७७ साल असोज २४ गते शनिवार ।