काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा नै महिला हकहितको सुनिश्चितता गरिएको र आवधिक योजना तथा कार्यक्रममा समेत महिला सशक्तीकरण एवम् लैङ्गिक समानताका लागि प्राथमिकताका साथ लाग्न आग्रह गरेकी छन्।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले संविधानमा व्यवस्था गरिएको नीतिगत प्रावधान, संस्थागत व्यवस्था गरी कार्यक्रमको थालनीबाट समग्र महिलाहरुको अवस्थामा केही सुधार भएको उल्लेख गरेकी छन्।
राष्ट्रपति भण्डारीले सन्देशमा भनेकी छन्–, “विद्यमान सामाजिक परम्परा, धार्मिक अन्धविश्वास एवम् पुरुष प्रधान मानसिकताबाट ग्रसित मूल्य मान्यताको प्रभावले महिलाहरु शैक्षिक, सामाजिक एवम् आर्थिक रुपले पछि परेबाट पुरुषको तुलनामा महिलाको स्थान कमजोर छ भने उनीहरुको अवस्था दयनीय रहेको पाइन्छ।”
महिलाहरुको हक अधिकारका साथै सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै राष्ट्रपति भण्डारीले प्रत्येक वर्ष ८ मार्चलाई विश्वभर अन्तराष्ट्रिय महिला दिवसका रुपमा मनाउने गरिएको बताएकी छन्।
राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्र सङ्घले सन् २००० मा घोषणा गरेको सहस्राब्दी विकासका लक्ष्यहरु, संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित दिगो विकासका धेरैजसो लक्ष्यमा महिला सशक्तीकरण, समानतासँग सम्बन्धित रहेको र महिला सशक्तीकरण एवम् लैङ्गिक समानताका लागि अन्तर्राष्ट्रियस्तरमा भएका घोषणाहरु एवम् प्रतिबद्धता हाम्रा संवैधानिक एवम् कानुनी व्यवस्था रहेको समेत स्पष्ट पारेकी छन्।
प्रकाशन मिति–२०७३ साल फागुन २५ गते बुधवार ।