–श्याम स्मृत
काठमाडौ । सारा संसार आनन्दको खोजीमा छ। त्यो आनन्द पैसा, भौतिक सुख–सुविधा, बार वा क्यासिनोमा भेटिदैन। बाहिर भेटिने सुख तुरुन्तै दुःखमा परिणत हुन्छ।
विकाससंगै विभिन्न भौतिक सुख, सुविधा चुलिंदै गएपनि मानिसहरुमा डिप्रेसन, अनिद्रा, मानसिक स्वास्थ्य समस्याहरु र आत्महत्याको दरमा बृद्धि हुन थालेको छ। जसलेगर्दा मानिसको जीवन अनिन्द्राको शिकार बन्न थालेको छ। कतिले आनन्दसंग निदाउन नपाउंदा अनेकन मानसिक रोगको शिकार बन्नुपरिरहेको छ।
यस्तो स्थितिलाई बदल्न मानिसमा मौलिक परिवर्तन नल्याइकन हुंदैन्।
मानिसहरुको जीवन तनावपूर्ण बन्दै गएको बताउने ओशो तपोबनका स्वामी अरुणले ध्यान, योग र जीवन जीउने सही कलाबाट मात्र तनावबाट मुक्ति पाउन सकिन्छ भनेका छन्। त्यसमाथि, संसार बदल्नु छ भने आफैलाई बदल्नु पर्दछ भन्ने स्वामी आनन्द अरुणको यही भनाईबाट सामाजिक अभियन्ता सविना मानन्धर धमलाले जीवनलाई तनाबवाट आनन्दको जीवनमा बदल्न सकेको दावी गरेकी छन्। विगत केही बर्षदेखि निन्द्रा नलाग्ने तथा विविध तनाबपूर्ण जीवन झेल्दै आएकी धमलाले ओशो तपोबनमा स्वामी अरुणबाट दीक्षित बनेपछि जीवनमा आनन्द प्राप्ति भएको भनेकी छन्।
केही बर्षयता विविध तनाबले निन्द्रा नलाग्ने तथा विरामीको शिकार भैरहने भएबाट निदानको लागि अनेकन स्थानमा भौतारिदा पनि आनन्द नमिलेको र रोगको निदान नहुंदा शिक्षासेवी समेत रहेकी धमला हैरान बनेकी थिइन्।
यो बर्षको दशैअगाडि फेसबुकको माध्यमबाट जानकारी प्राप्त गरेर ककनी स्थित ओशो तपोबन पुगेकी धमला केवल सोधपुछका लागि पुगेको बताएकी छन्। जानकारी लिने क्रममा तपोबनको बेग्लै आनन्दको बाताबरणले त्यही बसेर ध्यान तथा योगा गर्न एकाएक प्रेरित गरेको र बुझेर फर्कने सोच गरेका उनी त्यसदिनवाट लगातार चार दिन त्यही बसेर ध्यान तथा योगा गरेपछि जीवनलाई बुझेको भनेकी छन्।संयोगवशः स्वामी अरुणको विविध प्रवचन सुन्ने र त्यसको गहन विश्लेषण गर्ने मौका तथा अवसर पाएपछि क्रमिक रुपमा अनिन्द्रा हट्दैगएको तथा तनाबले पनि स्थान छाड्दै गएको अनुभव भएको धमलाले भनेकी छन्।
अनिन्द्राको विरामीले गर्दा सुत्नको लागि स्लीपिङ्ग ट्याबलेटको हरेक दिन सहारा लिनुपर्ने तथा कहिलेकाही तिनको डोजमा पनि बृद्धि गर्नुपर्ने समस्या केही बर्षयता भएकोमा यो बर्षको दशैंयता त्यस्तो केही गर्न नपरेको उनले जिकिर गरेकी छन्।
अर्कोतर्फ उनीभित्रको मानसिक तनाबका कारण उत्पन्न अनेकन रोगको उपचार गर्न हरेक महिना नर्भिक अस्पताल जानुपर्ने बाँध्यता अव नभएकोले मनमा बेग्लै शान्ति मिलेको तथा मन चंगा बन्दैगएको भनाई पनि उनको रहेको छ।
मनको आनन्द विथोल्ने अनिन्द्रालाई ओशो तपोबनको ध्यान–योगा र दीक्षाले दूर पारेको बताउने उनी कहीजाँदा पनि नमिलेको आनन्द त्यहाँ मिलेको स्वीकार गर्छिन्। महिनामा एक–दुई हप्ता दशैयता ओशो तपोबनमा नै विताउने गरेकी उनले यो बर्षको दशैंपनि त्यही नै मनाइन्। दशैंको दुई छोरालाई टीका लगाइदिन मात्र काठमाडौ फर्केको बताउने उनी त्यहाँ गएपछि मनले बेग्लै आनन्द पाउने गरेको भन्छिन्।
तपोबनको सुरम्य बाताबरणमा सकारात्मक सोच र आनन्दको ओशोधारा नै बगिरहेको जस्तो महशुश हुने गर्छ। त्यो स्वर्गिय आनन्दले आनन्दको खोजीमा आउने गरेका आफूजस्ता धेरै विरामीहरुले उन्मुक्ति पाएको ठहर पनि उनको रहेको छ।
गत बैशाख १२ र २९ गते गएको विनाशकारी महाभूकम्पले क्षत–विक्षत बनाएको मनलाई शान्त पार्न भूकम्प पीडितहरुको लागि ठाउं–ठाउंमा पुगेर राहत वितरण गरेर अग्रणी सामाजिक अभियन्ता बनेकी उनमा महाभूकम्पले अझ उनको मनमा अशान्ति बढाएको थियो। निन्द्रा नलाग्ने रोगले गर्दा कयन रात ऐठनमा विताउने गरेकी उनले अपत्यारिलो तरिकाले ओशो तपोबनको ध्यानी र योगी बनेपछि निक्कै नै राहत महशुश गरेकी छन्।
तपोबनको दीक्षा पश्चात स्वामी अरुणबाट देवा सविना नाम पाएकी धमला आंखा चिम्लिएर, एकै क्षण शान्त भएर बस्नासाथ भित्रैबाट आनन्द आउने गरेको बताउंछिन्। संसारमा युद्ध र अशान्ति बढ्दै गएको बर्तमान अवस्थामा यसप्रकारको शान्ति किनेर नपाउने उनले भनेकी छन्। जीवनलाई गंभीर रुपमा नलिएर एउटा खेल वा नाटकको रुपमा लिनुपर्ने बताउने उनले जीवनका आरोह, अवरोह, सुख, दुख, आशा, निराशा सबैलाई साक्षीभावले हेर्न सुझाव समेत दिएकी छन्।
शरीरलाई भोजन चाहिएजस्तै हृदयलाई प्रेम चाहिन्छ, ईष्टमित्र, परिवार जसलाई पनि प्रेम चाहिन्छ, त्यसैले सबैलाई प्रेम बांडौ, प्रेमको प्रतिदान अस्तित्वले दिने गरेको बताउने उनी ध्यान र सही जीवन पद्धतिको कला नै आनन्द हो भन्छिन्।
प्रकाशन मिति–२०७२ साल माघ २४ गते आइतवार ।