–श्याम स्मृत
ललितपुर । ललितकलाको अनुपम शहर ललितपुरको चापागाउँ यसै त मनोरम स्थान अझ भक्तपुरे मल्लराजाको सन्तान देसारहरुले धेरै बर्ष राज चलाएको स्थान भएको कारण चापागाउँको ऐतिहासिक महत्व रहेको छ। यो गौरबमय चापागाउँमा जन्मेका फाइन आर्टका अदभूत कलाकार अजय देसारको जन्मस्थान पनि यही चापागाउँ हो।
भक्तपुरे मल्लराजाका सन्तानको कुलमा जन्मेका अदभूत कलाकार अजय देसारले कलाकारिता गर्न थालेको लगभग तीन दशक पुग्न लागिसकेको छ। त्यसको अलावा योङ पिकासो कम्युनिटी आर्ट स्कुल खोलेर सात बर्षिय बालबालिका देखि ७० बर्षिय बृद्धसम्मलाई फाइन आर्ट पढाउने कार्यमा इतिहास नै रचिसकेका छन्।
यिनै फाइन आर्टका तपस्वी कलाकार अजय देसारले नेपाल वाहेक बेलायतमा पनि लामो समय बसेर नेपाली फाइन आर्टलाई चम्काउने कार्य गरिसकेका छन्। त्यसको अलावा विभिन्न देशमा समय–समयमा अनेक सेमिनार गरेर नेपालको गौरबमय कलाकारितालाई उच्चस्थान राख्न टेवा दिने कार्य हुंदैआएको छ। समय तथा परिस्थिति अनुसार नयाँ भन्दा नयाँ सिर्जना गर्नमा अजय देसार व्यस्त छन्।
त्यसमा पनि समाजमा महत्वपूर्ण भूमिका खेल्ने तर बाहिर आउन नसकेका पात्रलाई अगाडि ल्याउन माहिर कलाकारका रुपमा अजय देसारलाई लिइने गरेको छ। अझ अजय देसारले आफ्नो कलामा जात्राका नायक हरदम खोजिरहेका हुन्छन् । अजय देसारको कलाको विषय नै अध्यारो जात्रामा उज्यालो दिने लुकेका नायक हो। काठमाडौं उपत्यकाभित्रका नेवार समुदायले मनाउने विभिन्न खालका जात्राहरुमा प्रयोग हुने सामग्री हुन् वा जात्रा मनाउने व्यक्ति उनको चित्रकलाको पात्र हुने गरेको छ।
कलाकार देसार प्रायः सांस्कृतिक जात्राको नायकको खोजीमा लागिपरेको देखिन्छ। नेवार समुदायका कुनै पनि जात्रामा दीप प्रज्ज्वलन नगरी जात्रा शुरु हुँदैन। त्यो दीपलाई प्रज्ज्वलन गर्ने व्यक्ति जात्राको अत्यन्त महत्वपूर्ण नायक मानिन्छ । यद्यपि हरेक स्थानको जात्राको मुख्य आकर्षणको केन्द्रबिन्दु खट र पूजा मात्र हुने भएकाले जात्राका ती नायक सधैं बेवास्तामा पर्ने गर्दछन्। जसले गर्दा ती नायक जहिले पनि पछाडि नै पर्ने गरेको पाइन्छ।
तिनै जात्राको नायकको विषयमा एकल चित्रकला प्रदर्शनी गरेर नाम कमाएका कलाकार देसारले तेल रङमा तयार पारिएका दर्जनौं चित्र हाल चर्चाको विषय बनिरहेका छन् । नेपालमा अँध्यारोलाई केन्द्र बनाएर चित्रकारिता गरिएका चित्रकलाहरु त्यति पाइँदैनन्। जात्राका नायकको कला प्रदर्शनीमा देसारले सानो आगोको झिल्कोले देखा पर्ने आकृतिलाई समेत निकै कलात्मक तरिकाले क्यानभासमा कैद गरिएको पाइएको छ।
अँध्यारोमा उज्यालो रङले चित्रलाई अझ रोमाञ्चक बनाउने गरेको छ। चित्रकलामा अलिकति पश्चिमा शैलीको प्रभाव र नेपाली परम्परा र शैलीको मिश्रणले चित्रलाई सजीवता प्रदान गर्ने कार्य कलाकार देसारबाट हुँदैआएको छ।
विसं २०३९ सालमा ललितपुरको चापागाउँमा जन्मिएका देसारले चित्रकलाको औपचारिक शिक्षा ललितकला क्याम्पसबाट लिएका हुन्। सानैदेखि चित्रकलामा अत्यन्त रुचि राख्ने देसार विद्यालयस्तरदेखि नै ल्याण्डस्केप चित्र कोर्ने गर्दथे। किशोरावस्थामा ललितपुरका विभिन्न गाउँमा घुमेर चित्र बनाउँदाको अनुभव उनको असाध्यै तितो रह्यो। चित्रकलाको खासै विकास हुन नसकेको स्थितिमा त्यसरी गाउँमा जाँदा धेरै पटक पिटाइसमेत खानुपरेको देसारले बिर्सेका छैनन् ।
‘नेपाल विद्युत् प्राधिकरणको लाइनबाट गाउँलेले विद्युत् चोरी गरेर घरमा बत्ती बाल्ने गरेका थिए । त्यसरी उनीहरुको घर गाउँमा नै गएर चित्र कोर्दा कतै त्यो चित्र लगेर प्राधिकरणमा त दिने हैन भन्ने शंकाले मानिसहरुले मलाई लखेट्ने र पिट्ने गर्दथे’–देसारले त्यो अतित सम्झदै भने।
करिब १८ वर्षअघि उनको बनाएका चित्र मन पराएका एक व्यक्तिले आफूसँग पैसा छैन भनेपछि देसारले एक मोहरमा समेत चित्र बेचेका थिए । हाल कलाकार देसारका अदभूत चित्रहरु स्वदेश तथा विदेशमा लाखौ लाख मूल्यमा विक्री हुने गरेका छन्।
सानैमा आमा गुमाएका अजयको संसार
आमा नहुनुको पिडा सानैमा आमा गुमाएका कलाकार अजय देसारलाई जतिको शायद अरु कसैलाई नहोला । आठ बर्षको उमेरमा आमाको स्वर्गवास भएपछि आफूपछिका बहिनीहरुलाई स्याहार गर्नुदेखि घरको भातभान्छा गर्नुपर्दाको त्यो पिडा अनि त्यो बेला छ्वाली बालेर भात पकाउनुपर्दा आगो नबल्दा आँखामा आँशुभन्दा रगतको आँशु बहेको त्यो अनुभव विर्सेका छैनन्।
त्यो अनुभवले नै जीवनलाई बलियो बनाउदै अगाडि बढ्ेका कलाकार देसारका पिताले एसएलसी पास भएको दिन बाटोमा कतै फालिएको चित्र कोर्ने ब्रस टिपेर ल्याएर मैले दिन सक्ने यो ब्रस नै तिम्रो लागि उपहार भनेर दिदाको त्यो क्षण अत्यन्त भावुक क्षण हो भनेर उनले भनेका छन्। पिताले दिएको त्यो उपहाररुपी ब्रसलाई जतनपूर्वक राखेर त्यही ब्रसलाई साक्षी राखेर देसारले फाइन आर्ट कलेज गएर फाइन आर्ट पढ्ेकाथिए ।
फाइन आर्टमा दक्ष भएपछि पहिलो पल्ट बज्रबाराही मन्दिरको जंगलमा खुला रुपमा चित्रकला प्रदर्शन गर्दा दुई दशकअगाडि त्यो बेलाका नेपालका लागि श्रीलंकाका राजदूतले कलाकार देसारको दिल खोलेर प्रशंशा गरेका थिए। ती राजदूतले श्रीलंकामा फाइन आर्ट पढ्नका लागि छात्रबृति पनि मिलाइदिएका थिए। विडम्बना छात्रबृति पाएको महिनावाटै श्रीलंकामा भिषण जातिय व्दन्द शुरु भएपछि श्रीलंका गएर अध्ययन गर्ने बाताबरण पनि भएन।
नेपालमा नै रहेर राम्रा राम्रा चित्र बनाउने तथा विभिन्न स्कुलहरुमा आर्ट टिचर बनेर काम गर्दैगए। यसक्रममा, फाइन आर्टमा ब्याचलर पनि सकाएपछि डिग्री गर्न बेलायतको राजधानी लण्डन जाने पनि कलाकार देसारले अवसर पाए। त्यहाँ देसारले तीन वर्ष बिताए । त्यस अवधिमा बेलायतको राष्ट्रिय कला प्रदर्शनीमा समेत देसारले भाग लिएका थिए। त्यसको अलावा त्यहाँ अन्य चार वटा एकल चित्रकला प्रदर्शनीसमेत देसारले गर्न भ्याएका थिए । त्यसबाट आएको पैसाले नेपालका विभिन्न गाउँमा कलाको विकास गर्नमा खर्चिएको देसार बताउँछन् ।
अजय देसारको त्यो अमर पुत्र
ललितपुर। नेपाली फाइन आर्टका ख्यातिप्राप्त कलाकार अजय देसारले जीवनमा धेरै चित्र बनाइसकेका छन्। ती सवै चित्रहरु देश–विदेशमा पुगेका छन्। कैयन ती चित्रहरु हजारौमा मात्र नभइकन लाखौमा विक्री पनि भैसकेका छन्। तर, एउटा हेर्दा सामान्य देखिएपनि असामान्य मानिएको चित्र भने विगत १५ बर्षदेखि लाखौं लाख मूल्य आउंदा पनि कलाकार देसारले विक्री गरेका छैनन्।
त्यो चित्रमा कलाकार देसारको बेग्लै मोह रहेको छ। अनुपम सदभाव लुकेको छ। चाहेर पनि त्यो चित्र अव देसारलाई विक्री गर्ने मन छैन्। चापागांउ लेलेस्थित कुष्ठरोग अस्पतालमा जानेक्रममा कुष्ठरोगी एक बृद्ध बुवाको कथावाट प्रभावित बनेर कोरिएको उक्त चित्रमा सामान्यता देखिएतापनि असामान्य खुशी देखिएको छ।
कुष्ठरोगी बन्दा समाजले गरेको अवहेलना तथा आफैले जन्माएका सन्तानहरु पनि दूरदूर भएको त्यो क्षण अनि कुष्ठरोगीलाई निःशुल्क उपचार र बस्नका लागि निःशुल्क आवासको व्यवस्था कुष्ठरोग अस्पतालले गरेको खवर थाहा पाएर सवै उनीप्रति आकर्षित बनेको त्यो स्वार्थी संसारलाई देखेर नचाहेर पनि कुष्ठरोग अस्पतालको बेडवाट मुस्कुराउने प्रयासमा कोरिएको त्यो चित्र किन किन कलाकार देसारको लागि अमर पुत्र बनेको छ।
धेरैले धेरै कुरा गरेर लाखौं लाख रकममा किन्न खोजेतापनि कलाकार देसारले बेचेका थिएन। अव पनि नबेच्ने कसम कलाकार देसारको रहेको छ। देसारको ललितपुर स्थित गोदावरी नगरपालिका वडा नंबर ११ स्थित चापागाउं निवासमा सजेर बसेको छ। यसलाई कलाकार देसार तथा कलाकार देसार पत्नी एवम् सिद्धहस्त कलाकार सीतु मास्के पनि यस चित्रलाई अमर पुत्र नै भन्न रुचाउंछिन्।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल कात्तिक ४ गते शुक्रवार ।